काठमाडौं- पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी नेपाल आइपुगेका छन्। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइदिन अब्बासी दुई दिने भ्रमणमा नेपाल आएका हुन्। नेपाल सरकारले पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई सैनिक मञ्च टुँडीखेलमा 'गार्ड अफ अनर' (विदेशी राष्ट्रप्रमुख वा प्रधानमन्त्रीलाई दिइने सम्मान गारत) ले सम्मान गरेको छ।
अब्बासी टुँडीखेलमा सम्मान गारत पाउने पहिलो विदेशी विशिष्ट पाहुना हुन्। यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमै गार्ड अफ अनर दिने परम्परा रहेकोमा अब्बासीलाई भने पहिलो पटक सैनिक मञ्च टुँडीखेलमा सम्मान गरिएको हो।
अब्बासी विशेष बिमानबाट ३२ सदस्यीय टोलीसहित नेपाल उत्रिएका हुन्।
उनले नेपाल बसाइका क्रममा दक्षिण एसियाली सहयोग संगठन(सार्क)को शिखर सम्मेलन आयोजनाबारे छलफल गर्नेछन्।
दुई पक्षीय भेटका क्रममा शिक्षा, पर्यटन, व्यापार, सैनिक सुरक्षा, जनस्तरको सम्बन्ध लगायत आपसी हितका विषयमा छलफल हुने बताइएको छ।
प्रधानमन्त्री ओलीले सोमबार नै अब्बासीको सम्मानमा होटल याक एन्ड यतीमा रात्रिभोज आयोजना गरेका छन्। होटलमै दुई प्रधानमन्त्रीबीच दुईपक्षीय वार्ता हुने कार्यक्रम छ।
परराष्ट्र मन्त्रालयका अनुसार पाकिस्तानी प्रधानमन्त्रीले मंगलबार स्वदेश फर्कनुअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन्।







नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।