शरीरभित्र रहेको मिर्गौला ९ देखी ११ सेन्टिमिटर लामो, ५ देखी ७ सेन्टिमिटर चौडाई र करिब एक सय २५ देखि एक सय ७० ग्राम तौलको हुन्छ । मेरुदण्डको दाँया–बाँया करङमुनि मिलेर बसेका मिर्गौलाको यो आकारमा बृद्धि भयो भने मिर्गौला सुन्निएको भन्न सकिन्छ । मिर्गौला एउटै कारण तथा समस्याले मात्र सुन्निँदैन । मिर्गौलामा नै समस्या देखिएर वा शरिरका अन्य अंगमा समस्या हुँदा मिर्गौला सुन्निने समस्या हुन्छ ।
नेपालको सन्दर्भमा हेर्दा करिब ७० प्रतिशत मानिसहरुको मिर्गौला पिसाब नलीमा हुने अवरोधका कारण सुन्निएको देखिन्छ । पत्थरीका कारण पिसाब नली तथा पिसाब थैलीमा अवरोध आउँदा मिर्गौला सुन्निन्छ । मिर्गौला एउटा वा दुवै सुन्निने हुन्छ । पिसाब नली, पिसाब थैलीको समस्यासँगै पुरुषमा प्रोस्टेट सुन्निँदा पनि मिर्गौला सुन्निने समस्या हुन्छ । पिसाब नलीमा लाग्ने रोगहरू, पिसाब थैली र प्रोस्टेट ग्रन्थीमा हुने ट्युमर, पत्थरी वा अन्य कारणले पिसाब मार्गमा अवरोध हुँदा मिर्गौला सुन्निँदै जाने र त्यसको उपचार नगर्ने हो भने मिर्गौला फेल हुने सम्भावना रहन्छ ।
बच्चा जन्मँदा लिङ्गको टुप्पोको छाला पछाडि नफर्किँदा पनि पिसाब रोकिएर सुन्निने समस्या हुन्छ । यो समस्याको उपचार भएन भने बच्चाको सानै उमेरमा मिर्गौला फेल हुने खतरा हुन्छ । नेपालमा धेरैजसो आमाले ख्याल नगरिदिँदा यस्तो समस्या भएका बच्चालाई पछि अस्पतालमा ल्याएको भेटिन्छ ।
यस्तै पिसाब नलीमा ‘क्याटेथर’ राख्दा चोट लाग्यो भने त्यहाँको नली साघुरिँदै गई ‘युरेथ्रा’बाट लामो समयसम्म पिसाब पूरै ननिस्कएपछि पनि मिर्गौला सुन्निने हुन्छ । महिलाहरूको पाठेघर तल खस्दै जाँदा पनि मिर्गौला सुन्निन्छ । यस्तै पाठेघरको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, अण्डबाहिनी नलीको क्यान्सरले पनि मिर्गौला सुन्निन्छ । पाठेघर खस्दा अगाडिको पिसाब थैली र नली भएको ठाउँमा चाप पर्न गई सही ढङ्गले काम गर्न नसक्दा मिर्गौला सुन्निने हुन्छ । यो समस्याको समयमा नै समाधान भएन भने मिर्गौला फेल नै हुनजान्छ ।
गर्भावस्थामा पनि मिर्गौला सुन्निन्छ । यो समयमा पाठेघरमा रहेको बच्चाका कारण मुत्रथैलीमा चाप पर्दा मिर्गौला सुन्निने गर्छ । यो अवस्थामा सुन्निएको मिर्गौलालाई सामान्य मान्न सकिन्छ ।
पेटका अन्य अंगहरु तथा ग्रन्थीहरु बढेमा समेत मिर्गौला सुन्निने समस्या हुन्छ । यसका साथै मिर्गौलामा नै समस्या हुँदा पनि सुन्निे गर्छ । मिर्गौलामा पानीको फोका जम्ने समस्याले पनि मिर्गौला सुन्नाउने हुन्छ । शरिरमा अरु रोगहरु छ र त्यसका प्रोटिन तथा केमिकल गएर मिर्गौलामा जम्मा हुँदा पनि मिर्गौला सुन्निन्छ ।
मिर्गौला धेरै कारणले सुन्निने हुँदा यस्को उपचार पनि कारण अनुसार फरक फरक हुन्छ । सर्वप्रथम के कारणले मिर्गौला सुन्निएको हो भन्ने पत्ता लगाएर त्यस अनुसारको उपचार गर्न सकिन्छ । मिर्गौला सुन्निँदा सामान्यतया कोखा दुख्ने, पिसाबमा रगत देखिने भयो भने तुरुन्तै उपचारका लागि पुगिहाल्नुपर्छ । मिर्गौला सुन्निँदै जाँदा उपचार भएन भने मिर्गौला फेल नै हुने खतरा रहेका कारण प्रत्येक व्यक्तिले नियमित रूपमा स्वास्थ्य परीक्षण गर्नु नै सबैभन्दा उत्तम हुन्छ । पिसाबमा प्रोटिन र रगतमा क्रियाटिनिनको जाँच र वर्षमा एकपटक भिडियो एक्सरे गराई समयमै मिर्गौला समस्याबाट जोगिनु नै सबैभन्दा उत्तम उपचार हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।