फ्याटी लिभर भनेको कलेजोमा बोसो जमेको अवस्थालाई बुझ्न सकिन्छ। धेरैजस्तो अवस्थामा फ्याटी लिभर सामान्य जस्तो लाग्न सक्ला, तर यसलाई हेलचेक्राइँ गर्नु हुँदैन। चिकित्सक, पेट तथा कलेजो रोग विशेषज्ञसँग परामर्श र सल्लाह गर्दा राम्रो हुन्छ। कतिपय अवास्थामा, यो भविष्यमा हुन सक्ने नराम्रो रोगको पहिलो लक्षण पनि हुन सक्छ।
फ्याटी लिभरलाई कलेजो रोगको पहिलो लक्षण मान्न सकिन्छ। यो अवस्थामा मान्छे बाहिरबाट हेर्दा एकदमै सामान्य हुन सक्छ। उसको कलेजोको रगत (एलएफटी) को रिपोर्ट सामान्य नै हुन सक्छ। स्टिटोहेपाटाइटिसिलाई रोगको दोस्रो चरण मान्न सकिन्छ। यसमा भिडियो एक्सरे गर्दा फ्याटी लिभर देखिनुका साथै कलेजो सुन्निन्छ, फुल्छ।
फ्याटी लिभरका कारण
१. रक्सीको सेवन
२. मोटोपना
३. अस्वस्थ खानपीन (विलाशी जीवनशैली)
४. शारीरिक व्यायाममा कमी
५. मधुमेह
६. रगतमा नराम्रो बोसोको मात्र धेरै हुँदा
७. हेपाटाइटिस सी
८. कलेजो बिग्रिनु अगाडिको एकदमै पहिलो लक्षण
९. कतिपय अवास्थामा लामो समयसम्म दीर्घकालीन रोगका लागि प्रयोग भइरहेका औषधिले पनि समस्या ल्याउन सक्छ।
लक्षणहरू
कसै-कसैलाई खाना मन नलाग्ने, बान्ता हुने, मुख मिठो नहुने, आलस्य हुने, कमजोरी, पहेलो पिसाब, आँखाबाट पहेलोपना सुरू भएर शरीरको अन्य भागमा देखा पर्ने (जन्डिस) पनि देखिन सक्छ। करङमुनिको दाहिने भाग कोखा दुख्ने पनि हुन सक्छ।
समयमै रोगको कारण, निदान र उपचार नगरे कतिपय अवास्थामा रोग बढेर कलेजो बिग्रने अवस्था आउन सक्छ। कलेजो बिग्रेर कलेजो फेलियर भएमा त्यसलाई सिरोसिस (लिभर सिरोसिस) भनिन्छ। सामान्य भाषामा यसलाई लिभर फेलियर भनेर बुझ्न सकिन्छ। तर, सफल उपचार गरे बिरामी पहिलेको जस्तै सामान्य अवस्थामा आउन सक्छ।
लिभर सिरोसिस हुने मुख्य कारण के-के हुन्?
१. कम्तिमा १० वर्षदेखि नियमित रक्सी सेवन।
२. क्रोनिक हेपाटाइटिस (बी, सी) - रगतबाट, असुरक्षित यौन सम्पर्कबाट, आइभी ड्रग एब्युज, आमाबाट सन्तानमा।
३. फ्याटी लिभर भई स्टिटोहेपाटाइटिस हुँदै रोगको उपचार नगर्दा र रोग बढ्दै जाँदा।
लिभर सिरोसिसका लक्षण
१. जन्डिस रहिरहने (आँखाबाट पहेँलोपना सुरू भएर शरीरको अन्य भागमा देखा पर्ने र बढ्ने र पहेँलो पिसाब जाने)।
२. खान मन नलाग्ने, बान्ता हुने, आलस्य हुने, कमजोरी महसुस हुने।
३. खुट्टा सुनिन्ने, फुल्ने।
४. पेट फुल्ने वा पेट ठूलो हुने।
५. छाला र मासु गलेर आउने।
६. बिरामी पातलो-दुब्लो हुँदै जाने।
७. केटा मान्छेको स्तन बढेर आउने।
लिभर सिरोसिस भयो भने के-के समस्या आउन सक्छन्?
१. पेटमा पानी जम्नाले पेट फुलेर आउने, सास फेर्न गाह्रो हुने।
२. खुट्टा फुलेर, सुन्निएर काम गर्न, हिँड्न गाह्रो हुने।
३. मुखबाट बान्तामा रगत आउने, दिसामा रगत आउने, दिसा कालो हुने।
४. बोली लटपटिने, बेला-बेलामा होस गुमाउने, दिनमा सुत्ने, रातमा बर्बराउने।
५. पिसाब आउन कमी हुने।
यी भ्रम हुन्
१. लिभर टनिकले फ्याटी लिभर (जन्डिस) को सफल उपचार हुन्छ।
२. लिभर टनिक खाएपछि रक्सी खान हुन्छ।
३. लिभर टनिक खाएपछि कलेजो बिग्रन्न।
४. बेसार खाएमा कलेजोको रोग, जन्डिस बढ्छ।
५. नुन खानु हुँदैन।
६. जे पनि उमालेको मात्र खानुपर्छ।
७. तरकारी पकाउन थोरै मात्रामा पनि तेल प्रयोग गर्नु हुँदैन।
कस्तो खानपान अपनाउने
नियमित रक्सी सेवनले जन्डिस हुन सक्ने भएकाले मध्यपान गर्नु हुँदैन। कलेजोले खानामा विशेषगरी चिल्लो र प्रोटिन पचाउने भएकाले कलेजोलाई आराम दिनका लागि माछा-मासु र चिल्लो पदार्थ धेरै नखाने।
पानी प्रसस्त मात्रामा पिउनुपर्छ। पानी उमालेको वा फिल्टर गरेको हुनुपर्छ। मुख नमिठो हुने हुँदा ग्लुकोज पानी, फलफूलको जुस खाने। फलफूल पानीको विकल्प हुनुका साथै तागत पनि दिने भएकाले सकेसम्म प्रसस्त फलफूल खाने। जन्डिस हुँदा सकीनसकी मेवा, उखु खोज्दै हिँड्नुपर्दैन। उखु पेल्ने हात र पानी फोहोर छ भने त्यसले फाइदा होइन बेफाइदा गर्न सक्छ।
नियमित बिहान-बेलुका दाल-भात-तरकारी खान मिल्छ। तरकारी पकाउन थोरै तेलको प्रयोग गर्न सकिन्छ। तर, तेलमा फ्राइ गरेको, तारेको खाने कुरामा खानु हुँदैन। जंकफुड, फास्टफुड, मःमः, चाउमिन जस्ता बाहिरका खाना खानु हुन्न। यसैगरी, कोक/फेन्टा जस्ता पेय पदार्थबाट पनि टाढै बस्नुपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।