काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको अस्पतालले जानकारी दिएको छ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार उनको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको हो।
बुधबार साँझ ७ बजे विज्ञप्ति जारी गर्दै सेन्टरले भनेको छ, 'हाल सम्माननीयज्यु (प्रम ओली)को स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको छ।'
उनलाई चिकित्सकको निरन्तर निगरानीमा राखिएको समेत अस्पतालले उल्लेख गरेको छ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार प्रधानमन्त्री ओलीको 'एपेन्डिसाइटिस'को आकस्मिक शल्यक्रिया गरी भेन्टिलेटरमा राखिएको थियो।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल पुर्याइएको थियो। परीक्षणमा उनलाई 'पेरिटोनाइटिस' (पेटमा संक्रमण) पनि देखिएपछि तुरुन्तै 'ल्यापरोटोमी' गरिएको थियो।
प्रधानमन्त्री ओलीलाई डा रमेशसिंह भण्डारीको टोलीले शल्यक्रिया गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।