काठमाडौं- पछिल्लो समय निरन्तर ओरालो लागेको सेयर बजार आइतबार एकै दिन ४१ अंकले घटेको थियो। तर, सोमबारको कारोबार खुलेदेखि नै उकालो लागेको नेप्से परिसूचक अधा घन्टासम्म बढेको थियो। बढेको बजारमा लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्दा बजार पुनः ओरालो लागेको एक ब्रोकर सञ्चालकले बताए। उनले भने, ‘लगानीकर्ताले नाफा सुरक्षित गर्न हतारिँदा बजार घटेको हो।’
डा युवराज खतिवडा अर्थमन्त्री भएसँगै सेयर बजार झनै नकारात्मक हुने अनुमानले थप घाटा बेहोर्न नचाहेका लगानीकर्ता सोमबार बजार बढेसँगै बाहिरिन हतारिएको सेयर जानकारहरु बताउँछन्।
साताको दोस्रो दिन नेप्से परिसूचक १६ दशमलव ६९ अंकले घटेर १ हजार २ सय ८७ दशमलव ७४ को बिन्दुमा पुगेको छ।
परिसूचकसँगै कारोबार रकममा गिरावट आउँदा लगानीकर्तामा निरासा छाएको छ। सोमबार कारोबारमा आएका १ सय ५३ कम्पनीको ३९ करोड ५२ लाख १७ हजार ४ सय ३६ कम्पनीको सेयर खरिद बिक्री भएको छ। जबकि आइतबार ४८ करोड ३९ लाख ६७ हजार ५ सय ६ रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो।
सोमबार कारोबारमा आएका दुई समूह बाहेक अन्य सबै समूह घटेका छन्। ट्रेडिङ समूह ६ दशमलव ८५ अंकले बढेको छ। त्यस्तै, होटल समूहमा २ दशमलव ४८ अंकको वृद्धि देखिएको छ।
सोमबारको कारोबारमा सर्वाधिक गुमाउनेमा बीमा समूह अन्तर्गतका लगानीकर्ता छन्। यो समूहको सेयर मूल्य १ सय १९ दशमलव २१ अंकले घटेको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन समूहमा ४६ दशमलव ४७ अंकको गिरावट आएको छ। जलविद्युत् समूह ४५ दशमलव ४ अंकले घटेको छ।
सोमबार सार्वाधिक कमाउनेमा सूर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता करिब १० प्रतिशत अर्थत् १ सय ८ रुपैयाँले बढेको छ।
त्यस्तै, विशाल बजार कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ८१ रुपैयाँ कमाएका छन्।
यता, सर्वाधिक गुमाउनेमा हिमालयन डिस्टिलरीका लगानीकर्ता छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता करिब १० प्रतिशत अर्थत् १ सय रुपैयाँले घटेको छ।
त्यस्तै, मञ्जुश्री फाइनान्सका लगानीकर्ताले प्रतिकित्ता ११ रुपैयाँ गुमाएका छन्। कम्पनीको सेयर मूल्य ७ दशमलव ७४ प्रतिशतले घटेको छ।
सोमबार नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भयो। कम्पनीको २ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, स्ट्यान्डर्ड चाटर्ड बैंकको १ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।