काठमाडौं– नयाँ शक्ति नेपालले विभिन्न विभागहरु गठन गर्नुका साथै केही जिम्मेवारीहरुको हेरफेर गरेको छ।
काठमाडौंमा बसेको पार्टीको महाधिवेशन आयोजक समितिको दोस्रो बैठकले १७ सदस्यीय सचिवालय गठन गरेको छ। त्यस्तै, प्रदेशका इन्चार्ज र संयोजक पनि तोकेको छ।
प्रशान्त सिंह र डम्बर खतिवडालाई पार्टी प्रवक्ताको जिम्मेवारी दिइएको छ। साथै, विश्वदीप पाण्डेको नेतृत्वमा सूचना तथा सञ्चार विभाग पनि गठन गरिएको छ। उनी लामो समयदेखि डा बाबुराम भट्टराईको स्वकीय सचिवका रुपमा कार्यरत थिए।
पाण्डेद्वारा आज जारी गरिएको विज्ञप्ती अनुसार १७ सदस्यीय सचिवालय पनि गठन गरिएको छ।
प्रादेशिक इन्चार्ज/संयोजक पनि चयन गरिएको छ। हिसिला यमीलाई प्रवासको इन्चार्ज चयन गरिएको छ। प्रवास संयोजक भने धनबहादुर गुरुङ्ग चयन भएका छन्।
त्यस्तै, परशुराम खापुङ संयोजक रहने गरी अनुगमन तथा मूल्यांकन विभाग, देवी ओझा संयोजक रहने गरी राजनीतिक संवाद तथा जनपरिचालन विभाग, केशव दाहालको संयोजकत्वमा उत्पादन तथा स्वरोजगार विभाग, डा. राजेन्द्र केसीको संयोजकत्वमा आर्थिक व्यवस्थापन तथा स्रोत परिचालन विभाग, करिष्मा मानन्धरको संयोजकत्वमा साँस्कृतिक विभाग, विश्वदीप पाण्डेको नेतृत्वमा सूचना तथा सञ्चार विभागलगायत १९ वटा विभाग गठन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।