काठमाडौं- अर्थमन्त्रीमा डा युवराज खतिवडा नियुक्ति भएसँगै नेपाली पुँजी बजार दिनप्रतिदिन नकारात्मक हुँदै गएको छ। डा खतिवडाले राष्ट्र बैंकका गभर्नर हुँदादेखि अर्थमन्त्री हुँदासम्म सेयर बजारलाई अनुत्पादक क्षेत्र भन्ने अभिव्यक्ति दिँदै आएका छन्। यसको प्रत्यक्ष प्रभाव नेपाली पुँजी बजारमा परेको लगानीकर्ताले बताएका छन्।
डा खतिवडाले सेयर बजारलाई प्रोत्साहन गर्ने नीति ल्याउँदैनन् भन्ने सोचका कारण लगानीकर्ताले सुरक्षित अवतरणको बाटो रोजेको सेयर बजारका जानकारहरु बताउँछन्। डा खतिवडा अर्थमन्त्री भएसँगै सेयर बजार अझै नकारात्मक हुने अनुमानले थप घाटा बेहोर्नुको साटो बजारबाट बाहिरीने सोचमा लगानीकर्ता देखिएको सेयर विश्लेकषकहरुले बताएका छन्।
'डा खतिवडा अर्थमन्त्री हुने हल्ला आउने बित्तिकै पुँजी बजारबाट ठूला लगानीकर्ता बाहिरिसकेका छन्,' एक लगानीकर्ताले भने, ‘यस्तो अवस्थामा साना लगानीकर्ताले मात्रै बजार कहिलेसम्म थेग्न सक्लान्।’ उनले बजार घट्दा अधिकांश साना लगानीकर्ता फस्ने गरेको बताए।
अर्थमन्त्री खतिवडाले बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव हटाउन विदेशी पुँजी भित्र्याउनुपर्ने र यस्तो पुँजी विगतमा जस्तै घरजग्गा, सेयर बजार तथा हायरपर्चेजमा लगानी नगरेर उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउँदै आएका छन्। डा खतिवडा अर्थमन्त्री भए लगत्तै भेट्न गएका उद्योग वाणिज्य महासंघका प्रतिनिधिसँग उनले लगानीयोग्य पुँजी अभाव हुन नदिने र अनुत्पादक क्षेत्रमा लगानी बढ्न नदिने बताएका थिए।
साताको पहिलो दिन आइतबार नेप्से परिसूचकमा भारी अंकको गिरावट आएको छ। कारोबार खुलेदेखि नै घटेको नेप्से परिसूचक अन्ततः ४१ दशमलव ५६ अंकले घटेर १ हजार ३ सय ४ दशमलव ४३ को बिन्दुमा पुगेको छ।
यसरी परिसूचकसँगै कारोबार रकममा गिरावट आउँदा लगानीकर्तामा निरासा छाएको छ। आइतबार कारोबारमा आएका १ सय ५१ कम्पनीको ४८ करोड ३९ लाख ६७ हजार ५ सय ६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। जबकि बुधबार ५४ करोड ३४ लाख ३१ हजार ५ सय ८३ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। बिहीबार सार्वजनिक विदा परेकाले कारोबार बन्द थियो।
आइतबार कारोबारमा आएका सबै समूहमा गिरावट आएको छ। यता, सर्वाधिक गुमाउनेमा पुँजी बजारका आधार मानिने दुई कम्पनी रहेका छन्। हिमालयन डिस्टिलरीको सेयर मूल्य प्रतिकित्ता १ सय १४ रुपैयाँ अर्थात् १० प्रतिशतले घटेको छ। त्यस्तै, विशाल बजारका लगानीकर्ताले प्रतिकित्ता १ सय ८७ रुपैयाँ गुमाएका छन्। कम्पनीको सेयर मूल्य ९ दशमलव ९७ प्रतिशतले घटेको छ।
आइतबार नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ३ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, नेपाल बैंकको २ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।
दुई कम्पनीको मात्रै सेयर मूल्य बढ्यो
आइतबार नेप्सेमा कारोबार भएको १ सय ५१ मध्य दुई कम्पनीको मात्रै सेयर मूल्य बढेको छ। दुवै कम्पनी लघुवित्त समूह अन्तर्गतका हुन्। सूर्योदय लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ४१ रुपैयाँले बढेको छ। त्यस्तै, स्वदेशी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता ७ रुपैयाँले बढेको छ।
डा खतिवडाको अभिव्यक्तिप्रति सेयर लगानीकर्ता संघको आपत्ति
यता, अर्थमन्त्री डा खतिवडाले सेयर बजार अनुत्पादक भनेर दिएको अभिव्यक्तिको सेयर लगानीकर्ता संघले विरोध गरेको छ। अर्थमन्त्री खतिवडाले सेयर बजारबारे बारम्बार दिएको नकारात्मक अभिव्यक्तिले पुँजी जुटाउने माध्यम सेयर बजारलाई डुबाउन खोजिएको संघले आरोप लगाएको छ। बजारमा सुधार गर्नका लागि अनलाइन कारोबार प्रणाली र सेयर कर्जा रकम बढाउनुपर्ने बैंक तथा वित्तीय संस्थालाई ब्रोक्ररको लाइसेन्स दिनुपर्ने लगायतका माग संघले राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।