काठमाडौं- प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सभामुखको अधिकार प्रयोगका विषयमा छलफल सुरु गरेकी छन्। सभामुखको पद रिक्त रहेको अवस्थामा सभामुखका अधिकार स्वतः उपसभामुखले प्रयोग गर्न पाउनुपर्ने भन्दै उनले सरोकारवालासँग छलफल थालेकी हुन्।
सभामुखको अधिकार प्रयोगका सम्बन्धमा उपसभामुख तुम्बाहाङ्फेले सोमबार संघीय संसद्अन्तर्गतका संसदीय समिति सभापतिहरूसँग छलफल गरेकी छन्। सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको आफ्नै कार्यकक्षमा उपसभामुख तुम्बाहाङ्फेले समिति सभापतिहरूसँग छलफल गरेकी हुन्।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक समितिकी सभापति निरुदेवी पालले सभामुखका अधिकार प्रयोगका सम्बन्धमा उपसभामुखले आफुहरूसँग छलफल गरेको बताइन्। 'सभामुखको अधिकार प्रयोगका सम्बन्धमा उपसभामुखले समिति सभापतिहरूसँग छलफल गर्नुभएको हो। दैनिक कार्यसंचालनको काममा सभामुखको अधिकार प्रयोग गर्न पाउनुपर्ने सम्बन्धमा समिति सभापतिहरुको राय माग गर्नुभयो,' पालले भनिन्।
छलफलमा १० समितिका सभापतिहरू उपस्थित थिए। 'सभामुखको पद रिक्त भएकाले दैनिक कार्यसंचालनको अधिकार आफूले प्रयोग गर्न पाउनुपर्ने धारणा राख्नुभयो। वहाँले यसमा सहयोग गर्नुपर्यो भन्नुभएको हो,' छलफलमा सहभागी एक समितिका सभापतिले नेपाल लाइभसँग भने।
'सभामुख रिक्त रहेका बेला दैनिक काम कारबाही तथा कार्यसंचालनको काम स्वतः उपसभामुखको जिम्मेवारीमा आउँछ। यसका लागि तपाईहरूले लिखित रुपमा नै सहमति दिनुपर्यो,' छलफलमा उपसभामुख तुम्बाहाङ्फेले प्रस्ताव राखेकी थिइन्।
तर संविधानमा यसको प्रस्ताव भनएको भन्दै समिति सभापतिहरुले उपसभामुखलाई सहयोग गर्ने लिखित सहमति दिन अस्वीकार गरेका थिए। 'कानुनमा यस सम्बन्धमा व्यवस्था नभएकाले सहमति जनाउन सकिँदैन,' छलफलमा राष्ट्रियसभाका प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिँडारीले भनेका थिए।
सभामुखको पद रिक्त भएपनि संसदीय समितिहरूले भने आफ्नो कामकारबाही निरन्तर जारी राखेका छन्। समितिहरुले विभिन्न समिति/उपसमिति गठन गर्दै अनुगमनका लागि देश तथा विदेशमा जानेसम्मका निर्णय गरिसकेका छन्।
अनुगमन गर्न र विदेश जान सभामुखको पूर्व स्वीकृति आवश्यक पर्ने व्यवस्था छ। तर सभामुख नभएकाले विदेश जाने सहमति दिन नसकिने भन्दै संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले स्वीकृति दिन अस्वीकार गरेपछि उपसभामुखले छलफल अघि बढाएकी हुन्।
यसअघि उपसभामुख तुम्बाहाङ्फेले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि संसद्मा दैनिक कार्यसंचालनका विषयमा छलफल गरेको बताइएको छ।
जबर्जस्ती करणीको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुखको पद रिक्त छ। महरा पुर्पक्षका लागि जेल चलान भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।