मार्खु– मकवानपुरको मार्खुमा काव्यउत्सव भएको छ। कुलेखानी जलविद्युत आयोजनाले बनेको ताल इन्द्र सरोबरमा कविहरुले कविता वाचन गरेर काव्य उत्सव मनाएका हुन्। ‘पर्यटनका लागि साहित्य’ नारासहित नेपालकै मानव निर्मित सबैभन्दा ठूलो ताल इन्द्रसरोबरमा काव्य उत्सव २०७४ सम्पन्न भएको हो।
फागुन १८ र १९ गते इन्द्रसरोबर तालको बीचमा डुंगामा कविता सुनाइएको थियो।
देशका करिब ३ दर्जन कविले इन्द्र सरोबरमा डुंगामा कविता सुनाएका हुन्। शुक्रबार साँझ ६ बजे सुरु भएको काव्य उत्सवमा इन्द्रसरोवरको बीचमा कविता वाचनका लागि डुंगामै स्टेज बनाइएको थियो। दर्शक पनि डुंगामै बसेका थिए। दीप प्रज्ज्वलनसहित गरिएको कार्यक्रम करिब दुई घन्टा चलेको थियो।
काव्य उत्सवको पहिलो दिन पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालमा यस्तो प्रकारका कार्यक्रम पहिलो पटक भएको भन्दै आफूले कविता र प्रकृतिलाई एकैपटक अनुभूति गर्न पाएको बताए। ३२ जना कविले एक–एक कविता वाचन गरेका थिए। राति १० बजेसम्म इन्द्रसरोवर कवितामा गुञ्जिएको थियो।
त्यस्तै, दोस्रो दिन इन्द्र सरोबरको किनारमा कविता वाचन गरिएको थियो।
इन्द्रसरोवर गाउँपालिका मकवानपुर र सर्वनाम थिएटर काठमाडौंको संयुक्त आयोजनामा गरिएको काव्य उत्सवमा विद्यालय स्तरीय कविता प्रतियोगिताका उत्कृष्ट कवि शुशिला वाइवा, अनिता लामा र मिरुता कार्कीलाई ४ हजार रुपैयाँसहित पुरस्कृति गरिएको थियो।
तालमा कविता सुनाउनु चुनौती पूर्ण र सुरक्षाका दृष्टिले जोखिमपूर्ण भए पनि सबैको सहयोगमा सफल भएको कार्यक्रममा संयोजक राज शाहले बताए।
काव्य उत्सवले इन्द्र सरोबरलाई पर्यटनको गन्तव्यका रुपमा विकाश गर्ने हौसला मिलेको गाउँपालिका अध्यक्ष जीवन लामाले बताए।
इन्द्र सरोबर काव्य उत्सवमा कविता वाचन गर्ने कविहरुः
अनिता न्यौपाने, अप्सरा तिम्सिना, असीम सागर, ईश्वर कँडेल, उषा शेरचन, छवि अनित्य, जोतारे धाइवा, ज्योति जङ्गल, नवराज पराजुली, नवीन प्यासी, निमेष निखिल, प्रकाश रम्घाली, प्रतिमा पाठक, प्रोल्लास सिन्धुलीय, फूलमान बल, बिना थिङ तामाङ, बाबु त्रिपाठी, बिर्खे अञ्जान, भूपिन, मनु मञ्जिल, रन्जना निरौला, रमेश क्षितिज, राजेन्द्र पराजुली, राम अविकास, रावत, विप्लव ढकाल, सङ्गीत श्रोता, सुदेश सत्याल, सुवास खनाल, सौरभ कार्की, हेम प्रभास, हेमन यात्री साथै स्थानीय कविहरु रश्मी लामा र श्याम लामा।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।