चितवन- निजी मेडिकल कलेजले सरकारले तोकेभन्दा बढी शुल्क लिएको विरोधमा विद्यार्थीहरु लगातार आन्दोलनमा छन्। भरतपुरस्थित चितवन मेडिकल कलेजले समेत आफूहरुसँग बढी शूल्क लिएको भन्दै यहाँका विद्यार्थीहरु पछिल्लो ३ महिनादेखि सडक आन्दोलनमा छन्।
विद्यार्थीहरुले पठनपाठन ठप्प पार्दै २ साताभन्दा लामो समय आन्दोलन गरेपछि गत असोज ४ मा जिल्ला प्रशासन कार्यालय चितवनको समन्वयमा चितवन मेडिकल कलेज प्रशासन र आन्दोलनरत विद्यार्थीबीच सहमति बनेको थियो। सहमतिमा कात्तिक १८ सम्म बढी लिएको शूल्क फिर्ता र समायोजन गर्न कलेज प्रशासन सहमत भएपछि विद्यार्थीहरुले विरोधका सबै कार्यक्रम स्थगित गरे।
तर, कलेजले विद्यार्थीको शूल्क फिर्ता गरेन, न त समायोजन नै। बरु उच्च अदालतमा आफूहरु मर्कामा परेको भन्दै रिट कात्तिक १७ गते नै रिट निवेदन दर्ता गर्यो। उक्त रिटउपर अदालतले हालसम्म कुनै सुनुवाइ नगरेकोले यो विषय अहिले शान्त प्रायः छ।
तर, अर्कोतर्फ विद्यार्थीहरु भने आफ्नो मागमा अडिग छन् र आफ्ना आवाजहरु विभिन्न तवरबाट राखिरहेका छन्। यसबीचमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, त्रिभुवन विश्वविद्यालय, आइओएम तथा सरोकारवाला विभिन्न निकाय गुहारेका विद्यार्थीको मागमा सम्बन्धमा सरकारले हालसम्म ठोस कुनै कदम चालेको छैन।
यता विद्यार्थीले भने कलेज तथा सरोकारवाला सबैमा दबाब सिर्जना गर्न भन्दै आज चितवनको भरतपुरमा विशाल विरोध र्याली आयोजना गरे।
चिकित्सा शिक्षा संघर्ष समितिको आह्वानमा वीरेन्द्र बहुमुखी क्याम्पसबाट सुरु भएको विरोध र्याली लायन्स चोक, सहिद चोक हुँदै पुल्चोक पुगेर पुनः सहिद चोक, लायन्स चोक, वीरेन्द्र क्याम्पस हुँदै चौबिसकोठीमा पुगेर कोणसभामा परिणत भएको थियो।
यसपटकको विरोध कार्यक्रममा यस क्षेत्रका अन्य कलेज र विद्यालयका विद्यार्थी तथा अभिभावकहरु समेत सहभागी थिए। ‘मेडिकल माफिया विरुद्ध’ गरिएको भनिएको विरोध कार्यक्रममा ऐक्यवद्धता जनाइ सहभागीता जनाइदिन शनिबारदेखि नै यस क्षेत्रमा माइकिङ गरिएको थियो।
हातहातमा पर्चा र पम्पलेट बोकेर नाराबाजीमा उत्रिएका सेतो कोटधारी विद्यार्थीहरुलाई अन्य कलेज तथा विद्यालयबाट पोशाकमै आएर समर्थन जनाएका थिए। विरोधका क्रममा विद्यार्थीहरुले मेडिकल माफिया मुर्दावाद, जनता कति लुटिने?, अब म डराउँदिन, स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी गर, माफिया बसरुद्धिन अन्सारी संरक्षण सरकारी, गरिबले उपचार नपाउने?, एजुकेसन और बिजनेस?, डू और डाई नाउ और नेभर, विद्यार्थीमाथिको दमन बन्द गर, स्टुडन्ट और एटिएम?, माफियाको मिसन सिटामोलमा पनि कमिसन, विद्यार्थीलाई न्याय कहिले?, ह्वाइट कोटको मूल्य कति? लगायत नारा लेखिएका पम्पलेट बोक्नुका साथै नाराबाजी समेत गरेका थिए।
विरोधका क्रममा भरतपुरको मुख्य बजार क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो। यद्यपि जाममा फसेका यात्रु तथा चालकहरुले समेत आन्दोलनमा ऐक्यवद्धता जनाएको बताइरहेका थिए।
आन्दोलनलाई निर्णायक बनाएरै छाड्छौं : विद्यार्थी
विरोध र्याली चौबीसकोठीमा पुगेर कोणसभामा परिणत भएको थियो। मुलसडकमै गरिएको सभामा बोल्दै सिएमसीमा अध्ययनरत मान्यता थापाले शूल्क फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताइन्। उनले आन्दोलनलाई निर्णायक बनाएरै छाड्ने उद्घोष गरिन्। ‘न्यायका लागि छातीमै गोली खान पनि तयार छु तर यो आन्दोलनलाई वार कि पार लगाएरै छाड्नेछौं,’ उनले भनिन्।
उनले हिजोआझ सेतो कोट लगाउन समेत आफूलाई लाज लाग्ने गरेको सुनाइन्। ‘मेडिकल माफियाका कारण नै अहिले यो ह्वाइट एप्रोन समावेशी छैन। दलाल, माफियाको किनबेचमा परेको यो एप्रोन दुई वर्गबीचमा विभेदको कडी समेत बनेको छ,’ थापाले भनिन्, ‘सरकारले भनेको कुरा लागू हुनुपर्छ भनेर ३ महिनादेखि सेतो एप्रोन लगाएका हामी आन्दोलनमा उत्रिँदा मात्र लाठी र बुट पायौं। यसकारण पनि हिजोआज यो ह्वाइट एप्रोन लगाउन मलाई लाज लाग्छ।’
उनले सुरक्षाकर्मी र निकायमाथि पनि आक्रोश पोखिन्। विद्यार्थीमाथि बुट बजार्नुको सट्टा उनले मेडिकल माफियालाई पक्राउ गर्न सुझाइन्। दिनरात विद्यार्थी माथि धरपकड गर्ने, लाठी र बुट बजार्ने बसरुद्धित अन्सारीलाई कारबाही गर्नुस्,’ उनले भनिन्।
थापाले प्राइभेट मेडिकल कलेज एसोसियसनका अध्यक्ष एवम् नेशनल मेडिकल कलेज वीरगन्जका सञ्चालक समेत रहेका अन्सारीलाई समेत चेतावनी दिइन्। भनिन्, ‘बसरुद्धिन अन्सारी धेरै भयो तिम्रो ज्यादति, पैसा र पहुँचको आडमा विद्यार्थीमाथि जुन दमन तिमीले गरिरहेका छौ, राज्यले तिमीलाई कारबाही नगर्ला। तर, अब तिमीलाई जनताले कारबाही गर्नेछन्।’
उनले सिएमसीको होस्टलमा भेटिएको पेस्तोलका विषयमा समेत विद्यार्थीले राखेको भनेर भ्रम फैलाइएको आरोप लगाइन्। ‘विद्यार्थीको पोसाकमा २ जना महिला आउँछन् र हतियार राखेर जान्छन्। अनि दोष विद्यार्थीलाई लगाइन्छ,’ उनले भनिन्, ‘चितवन मेडिकल कलेजका कुनै पनि विद्यार्थीलाई षड्यन्त्र गरी फसाइन्छ भने चितवनको सडकमा जनलहर उत्रिनेछ।’
समाजवादी सरकार भएको भए विद्यार्थीहरुले आफ्ना जायज माग राखेर आन्दोलन गर्दा कुटिनु पर्ने अवस्था आउने थिएन भन्दै उनले थपिन्, ‘समाजवादी सरकारको परिभाषा यो होइन। यो त फाँसीवादको परिभाषा हो।’
जनताले विभिन्न तन्त्र र वाद हटाइसकेको स्मरण गराउँदै उनले यो माफियातन्त्र हटाउन पनि जनता सक्षम रहेको बताइन्। यसको थालनी विद्यार्थीले गरेको जनाउँदै उनले यसलाई जनताले गन्तव्यमा पुर्याउने तर्क गरिन्।
माफिया राज मौलाएको बताउँदै थापाले यस्तो व्यवस्था हटाउन युवाजगत एकजुट हुनुपर्ने भन्दै सबै एकजुट हुन आग्रह गरिन्। माफियाविरुद्ध डा गोविन्द केसी जारी राखेको सत्याग्रहको बागडोर आफूहरुले लिएको जनाउँदै विद्यार्थी थापाले अब डा केसीले यस विषयमा अनसन बस्नु नपर्ने दावी गरिन्।
विद्यार्थीकै तर्फबाट बोल्दै चितवन मेडिकल कलेजमा एमबिबियस तेस्रो वर्षमा अध्ययनरत खगेन्द्र जिसीले कानुनमा लेखिएको कुरा पालन हुनुपर्ने माग गरे। ‘संविधान र कानुनमा लिपीवद्ध कुरा पनि कार्यान्वयन हुँदैन भने त्यसलाई जलाइदिए हुन्छ। त्यसको काम छैन,’ जिसीको भनाइ थियो।
देश पछि पर्नुको कारण नै विधिको शासन नहुनु रहेको उनको ठहर छ। विद्यार्थी आन्दोलनलाई आफूहरुले गन्तव्यमा पुर्याएरै छाड्ने उनले अडान दोहोर्याए।
अभिभावक भन्छन्- हाम्रो आवाज सुन्ने निकाय कुन हो?
कोणसभामा अभिभावकको तर्फबाट आफ्नो भनाइ राखेमा बिएम ओलीले विद्यार्थीको आन्दोलनमा आफ्नो समर्थन र ऐक्यवद्धता रहेको जनाए। उनले विद्यार्थीको आवाज चितवन मेडिकल कलेज, सरकार र तिनका मातहतका निकायले सुन्दैन भने आवाज सुन्ने निकाय कुन हो र कहाँ छ बताइदिन आग्रह गरे।
ओलीले विद्यार्थीलाई जारी आन्दोलन निष्कर्षमा पुर्याएर मात्रै विराम लिन सुझाउँदै अभिभावक र सबै जनता विद्यार्थीको पक्षमा रहेको जनाए। कलेजको होस्टल परिसरमा हतियार भेटिएको सम्बन्धमा उनले सिरिन्ज बोकेर बिरामीको सेवामा लाग्ने चिकित्सा क्षेत्रका विद्यार्थीले कदापि हतियार बोक्न नसक्ने दावी गरे। उनले यस्तो कार्य प्रहरीकै प्रपन्चमा भएको समेत आरोप लगाए। चितवन मेडिकल कलेजले ठगी मुद्दा खप्न तयार हुनसमेत उनले चेतावनी दिए। अभिभावकले चोरेर, ठगेर मेडिकल कलेजलाई रकम नबुझाएको बताउँदै ओलीले अभिभावकले मेडिकल कलेजमा ताला लगाउनसम्म सक्ने चेतावनी दिए।
ठगीको प्रमाणसहित जाहेरी दिनुहोस्, कारबाही हुन्छ : सिडिओ
उता चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले उच्च अदालतमा मेडिकल कलेजको तर्फबाट परेको रिट निवेदन विचाराधीन रहेकोले यस सम्बन्धमा आफूहरुले केही गर्न नसक्ने बताए। यसै अवस्थामा मन्त्रीस्तरीय कुनै निर्णय आएमा आफूले त्यसको पालना गर्ने बताउँदै बस्नेतले विद्यार्थीलाई आफू ठगिएको सम्बन्धमा जाहेरी दिन समेत आग्रह गरे।
‘विद्यार्थीलाई आफू ठगिएको लाग्छ भने प्रमाणसहित जाहेरी दिनुहोस्। हामी कारबाही प्रकिया अघि बढाउँछौं। यो हाम्रो र सरकारकै भनाइ हो,’ उनले भने।
प्रमुख जिल्ला अधिकारी बस्नेतले आफूहरुलाई शैक्षिक सत्र २०७५/०७६ को मात्रै शूल्कसम्बन्धी समस्या सुल्झ्याउन कार्यादेश रहेको तर विद्यार्थी धेरै पहिलेदेखिकै मुद्दा उठाइरहेको बताए। ‘हामीलाई तोकिएको एक शैक्षिक सत्रको मात्रै शूल्क विवाद मिलाउने कार्यादेश पालना गर्छौं,’ बस्नेतले भने, ‘तर, विद्यार्थीले धेरै पहिलेदेखिको शूल्क सम्बन्धी विषय उठाएका छन्। सो सम्बन्धमा हामी केही पनि गर्न सक्दैनौं। तर, विद्यार्थी जाहेरीसहित आएमा भने हामीलाई त्यसमा समेत काम गर्न बाटो खुल्छ।’
बस्नेतका अनुसार सिएमसीले बढी शूल्क लिएको स्वीकार गरेको र सो फिर्ता वा समायोजन गर्न समेत तयार भएको जनाएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।