काठमाडौं- संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको काठमाडौं उडान रद्द भएपछि सरकारसँग हुने भनिएको आजको वार्ता स्थगित भएको छ।
संविधान संशोधन र नयाँ सरकारमा सहभागिताको विषयमा निष्कर्ष निस्कन नसकेपछि गृह जिल्ला सुनसरी पुगेका फोरम अध्यक्ष यादव शनिबार अपराह्न काठमाडौं आउने कार्यक्रम थियो। अन्तिम समयमा उडान रद्द भएपछि शनिबार साँझ सरकार र फोरमबीच हुने भनिएको वार्ता स्थगित भएको छ।
बालुवाटार स्रोतका अनुसार सरकार र फोरमबीचको वार्ता भोलिका लागि सारिएको हो। तर समयको टुंगो लाग्न बाँकी छ।
संविधान संशोधन गर्दै फोरमलाई सरकारमा ल्याउन सरकारले पछिल्लो समय गृहकार्य गरिरहेको छ। सत्ता नेतृत्वकर्ता दल एमाले र फोरम संविधान संशोधनमा सहमत भए पनि मन्त्रालय बाँडफाँटमा कुरा मिल्न सकेको छैन। फोरमले उपप्रधान सहित ३ मन्त्रालय माग गरेको छ। सरकार २ मन्त्रालय र एक राज्यमन्त्री लिएर सरकारमा आउन आग्रह गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।