काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेप्लिजले भेट वार्ता गरेकी छिन्।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको भेटमा प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई बधाई पठाएकामा धन्यवाद ज्ञापन गरेका थिए। प्रधानमन्त्री ओलीले अमेरिकी सरकारले नेपालको विकास लगायत विविध क्षेत्रमा लामो समयदेखि गरेको सहयोगको प्रशंसा गरेका थिए।
प्रधानमन्त्री ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाअन्तर्गत नेपालको ऊर्जा र यातायातको सुदृढीकरणमा ६ सय ३० मिलियन अमेरिकी डलर अर्थात् ६३ अर्ब रुपैयाँ लगानी गर्ने भनेकोमा उक्त काम तत्काल सुरु गर्न आग्रह गरेका थिए।
राजदूत टेप्लिजले नेपालको विकास, सुशासन र नीतिगत सुधारमा अमेरिकाको सहयोग सदैव जारी रहने प्रतिबद्धता व्यक्त गरेकी थिइन्।
प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका कारण नेपालको हिमाली क्षेत्रको बदलिँदो वातावरणका विषयमा राजदूतको ध्यानाकर्षण गराउँदै आफ्नो सरकार भ्रष्टाचार नियन्त्रण, सुशासन, विकास र समृद्धिका लागि प्रतिबद्ध भएर लागिपर्ने बताएका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।