काठमाडाैं- नेपाली भू-भाग समेटेर भारतले जारी गरेको नक्साप्रति नेपाल सरकारले औपचारिक रुपमा विरोध जनाएकाे छ।
कालापानी, लिपुलेकलगायतका नेपाली भूमि समेटेर भारतले तीन साताअघि नयाँ नक्सा सार्वजनिक गरेको थियो। सरकारले भारतले सार्वजनिक गरेको नक्साको विरोध गर्दै भारतलाई बिहीबार ‘कूटनीतिक नोट’ पठाएको हो।
नेपालले पठाएको कूटनीतिक नोटमा नेपाली भूमि नक्सामा परेको भनि सच्याउन आग्रह गरिएको छ। दिल्लीस्थित नेपाली दूतावासले ‘कूटनीतिक नोट’ पठाइएको पुष्टि गरेको छ।
काली नदी पूर्वको भू-भाग नेपाली भएकाे सुगौली सन्धिमा प्रष्ट रहेकोले त्यसै अनुरुप सीमा निर्धारण हुनुपर्ने नेपालको दाबी छ।
भारतले सार्वजनिक गरेको नयाँ नक्सामा काली नदी पूर्वको भू-भाग पनि समेटिएकाे छ। भारतले नोभेम्बर २ मा नक्सा सार्वजनिक गरेको थियो।
भारतले सुगौली सन्धिविपरित नक्सा सार्वजनिक गरिएको भन्दै विरोध भइरहेको छ। सीमा प्रकरणकै विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठक पनि डाकेका थिए। दलका नेताहरूले कुटनीतिक पहल मार्फत सीमा समस्या सल्टाउन सरकारलाई सुझाव दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।