मानिसले खाएको खाना शरीरभित्र ग्लुकोजमा परिवर्तन हुन्छ । मानव शरीरको प्रमुख शक्तिको स्रोत ग्लुकोज हो । शक्ति शरीरभित्र रहेका सेल्स (कोशिकाहरू) भित्र हुन्छ । ग्लुकोजलाई रगतबाट कोशिकाभित्र प्रवेश गराउने काम इन्सुलिनले गर्छ । इन्सुलिन पेटको प्यान्क्रियाज ग्रन्थीले उत्पादन गर्छ । यो ग्रन्थी रोगग्रस्त भएको अवस्थामा पर्याप्त मात्रामा इन्सुलिन उत्पादन हुन सक्दैन । फलस्वरूप ग्लुकोज कोशिकाभित्र प्रवेश गर्न नसकी रगतमै थुप्रिएर बढ्दै जान्छ र पिसाबबाट बाहिर निस्कन थाल्छ । यसले गर्दा शक्ति उत्पादनमा प्रयोग हुनुपर्ने ग्लुकोज त्यत्तिकै खेर जान थाल्छ । यो अवस्थामा रगतमा ग्लुकोजको मात्रा अत्यधिक बढेको हुन्छ भने कोशिकामा शक्तिको उत्पादन हुन नसकेर शरीर कमजोर हुँदै जान्छ । यही अवस्थालाई डाइबिटिज वा मधुमेह भनिन्छ ।
जान्नै पर्ने कुरा
– खाना, शारीरिक श्रम र औषधिको मात्रा एकदम ठीक तरिकाले सन्तुलित राख्ने ।
– निश्चितरुपले तोकिएको खाना, तोकिएको मात्रामा (क्यालोरी हिसाब गरेका), तोकिएको समयमा खाने ।
– शारीरिक श्रम, व्यायाम दैनिकरुपमा निश्चित मात्रामा गर्ने ।
– धुम्रपान नगर्ने ।
– शारीरिक तौल ठीक राख्ने ।
– बर्त बस्ने बानी छाड्ने ।
– चक्कर लाग्ने, मुटु हल्लिने, चिसो पसिना आउने रगतमा ग्लुकोज ज्यादै कम भएकोले हुन सक्छ । यस्तो अवस्थामा तुरुन्त गुलियो खाद्यपदार्थ खाने । रगतमा ग्लुकोज आवश्यकभन्दा कम भएमा ज्यानको लागि खतरा हुन सक्छ ।
– प्रत्येक महिना रगतमा ग्लुकोजको मात्रा जाँच्ने । प्रत्येक ६–६ महिनामा मुटु, मिर्गौला, आँखा आदिको परीक्षण गराउने ।
– करेला, निमको पात, लौकाको रस खाएर अनि योग र प्राणायाम गरेर मात्र मधुमेह ठीक नहुन सक्छ । यसकारण अरुको लहैलहैमा नलागी विशेषज्ञ चिकित्सको सल्लाह अनुसार उपचार गराउने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।