काठमाडौं– अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले भूमि सुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त प्रमुख रामबाबु मण्डललाई पाँच लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ।
अख्तियारले शुक्रबार गरेको स्टिंग अप्रेसनमा निमित्त प्रमुख मण्डल पक्राउ परेका हुन्। केही समयदेखि अख्तियारले मालपोत कार्यालयमा निगरानी गर्दै आएका थियो।
मण्डलले एकजना सेवाग्राहीका नाममा आएको जग्गाबारेको निर्णयसहितका कागजात अदालतमा पेस गर्न घुस मागेका थिए। अदालतले कागज पेस गर्न भनेपछि स्वत: पठाउनुपर्ने कागज उनले लुकाएर राखेका थिए।
उक्त कुराको जानकारी अख्तियारले पाएपछि केही दिनदेखि उनीमाथि निगरानी गरिरहेकाे थियाे। उच्च अदालत जनकपुरको राजविराज इजलासमा चलिरहेको जग्गा मुद्दामा पेस गर्नुपर्ने फाइल ताकेता गर्दा पनि निमित्त प्रमुखले नपठाएपछि सेवाग्राहीले अख्तियारको सहयोग लिएका थिए।
निमित्त प्रमुख मण्डलले अदालतमा पेस गर्नुपर्ने फाइल पठाउनका लागि ५ लाख घुस माग्दै आएका थिए। आफूले फाइल नपठाए मुद्दा हार्ने धम्की दिँदै उनले सेवाग्राहीसँग रकमकाे बार्ग्रेनिङ गरेका थिए।
अदालतमा रहेको मुद्दा हार्ने भएपछि उनले रकम दिन तयार रहेको भन्दै अख्तियालाई सूचना दिएका थिए। सेवाग्राहीको सूचनापछि अख्तियारले स्टिंग अप्रेसनको योजना बनाएको थियो।
अख्तियारको कार्यालय बर्दिवासको टोलीले सेवाग्राहीलाई पाँच लाख रकम दिएर पठाएको थियो। रकमसहित पछ्याउँदै सिराहा गएको अख्तिायरको टोलीले निमित्त प्रमुखलाई कार्यकक्षबाटै रकमसहित रङ्गेहात पक्राउ गरेको हो।
घुस मागेको जानकारी सेवाग्राहीले दिएपछि अख्तियारको टोली सिरहा पुगेको र कार्यकक्षबाटै निमित्त प्रमुख मण्डललाई पक्राउ गरिएको आयोग बर्दिवासका प्रवक्ता हरिप्रसाद घिमिरेले बताए।
आयोगको टोलीले घटनाको मुजुल्का तयार गरेर निमित्त प्रमुखलाई थप अनुसन्धान गरी मुद्दा दायर गर्न काठमाडौं पठाउने उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।