काठमाडौं- फैसला भएको मुद्दाको कागज उपलब्ध गराउन ६० हजार रुपैयाँ घुस माग्ने जिल्ला अदालत रुकुमका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्तिक २४ गते जिल्ला अदालत रुकुमका नासु रमेशकुमार खड्कालाई घुससहित पक्राउ गरेको थियो।
अख्तियारले ६० हजार घुस लिएको दाबी गर्दै शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। नासु खड्का १५ हजार घुससहित अख्तियारको फन्दामा परेका थिए।
आयोगको स्टिंग अप्रेसनको टोलीले उनलाई पछ्याउँदै घुससहित पक्राउ गरेको थियो। अदालतबाट फैसला भइसकेको एक जग्गा मुद्दाको जग्गा दाखिल खारेज दर्ता पुर्जी उपलब्ध गराउन नासु खड्काले सेवाग्राहीसँग ६० हजार रुपैयाँ घुस रकम मागेका थिए।
फैसला भएपछि स्वतः पाउनुपर्ने कागजका लागि उनले ६० हजार रकम माग गरेका थिए। उक्त रकम धेरै भएको सेवाग्राहीले बताएका थिए। तर, कम रकममा आफूले उपलब्ध गराउन नसक्ने भन्दै उनले चेतावनी दिएका थिए।
अन्त्यमा नासु खड्का १५ हजार रुपैयाँमा कागज उपलब्ध गराउन सहमत भए। त्यसपछि पक्षले अख्तियारमा सूचना गरे। त्यसपछि अख्तियारले नासुविरुद्ध स्टिंग अप्रेसन चलाएको थियो।
अख्तियारको योजनाअनुसार पक्षलाई १५ हजार रुपैयाँ दिएर पठाएको थियो। उक्त रकम पक्षले नासु खड्कालाई रुकुम पश्चिम मुसिकोट नगरपालिकास्थित राप्ती होटल एन्ड लजमा बोलाएको थियो।
जिल्ला प्रहरी कार्यालय जाने बाटोमा रहेको उक्त होटलमा पैसा लिइरहेको अवस्थामा अख्तियारले स्टिंग गरेको थियो। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ। केही दिन पहिले पनि अख्तियारले सर्वोच्च अदालतभित्रै स्टिंग अप्रेसन चलाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।