काठमाडाैं- निवर्तमान सभामुख कृष्णबहादुर महराको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीले आफ्नै इजलासमा राखेर सुनुवाइ गर्नेगरी पेसी तोकेका छन्।
संघीय संसदकाे सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई जवरजस्ती करणी प्रयास गरेको आरोपमा जिल्ला अदालतको आदेशले थुनामा रहेका महरा उक्त निर्णयविरुद्ध बिहीबार उच्च अदालत पुगेका थिए।
जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका महरा हाल डिल्ली बजार कारागारमा छन्। जिल्ला न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले महराको संलग्नता नभएको भन्न नसकिने भन्दै थुनामा पठाएको थियो।
सरकारी वकिलको कार्यालयले बलात्कार प्रयासमा ५ वर्ष र आफू मातहतको कर्मचारीमाथि बलात्कार प्रयास भएकाले थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैदको माग गर्दै मुद्दा दर्ता गरेको थियो।
जिल्ला अलालतले दिएको आदेश त्रुटिपूर्ण भएकाले साधारण तारेखमा रिहा हुनपर्ने महराको तर्क छ। महरालाई लागेको अभियोगमाथि उनी पक्षका वकिलहरूले बहस गर्नेछन्।
शुक्रबार उच्च अदालतले कैफियत प्रतिवेदन मगाउने आदेश गर्ने छ। दोस्रो सुनुवाइबाट उच्चले महरालाई थुनामा पठाउने निर्णय माग सदर वा बदरको विषयमा निर्णय गर्ने छ।
संसद सचिवालयकी एक कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेपछि उनलाई गत असोज १९ मा पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो। प्रहरीले पक्राउ गरेपछि उनी लामो समय नर्भिक अस्पतालमा बसेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।