बैंकक- थाइल्यान्डमा आगामी निर्वाचनका लागि ४० राजनीतिक दलले निर्वाचन आयोगमा दलको नाम दर्ता गराएका छन्।
राजधानी बैंककमा ती दलले नाम दर्ता गराएका हुन्। थाइल्यान्डमा हाल सैनिक शासक रहेकाले उक्त निर्वाचनमा दलले सहभागिता नजनाउने अनुमान गरिएका बेला यो समाचार आएको छ।
सैनिक शासनबाट देशलाई प्रजातन्त्रमा फर्काउन यो निर्वाचनले अहं भूमिका खेल्ने बताइएको छ। थाइल्याडमा सन् २०१४ देखि सैनिक शासन कायम छ। सन् २०१४ मा जननिर्वाचित सरकारलाई हटाएर सैनिकले सरकार सञ्चालन गर्दै आएको हो।
यसै हप्ता जुन्ता अर्थात् सैनिक सरकारका प्रमुखले सन् २०१९ को फेब्रुअरीसम्ममा संसदको निर्वाचन गराउने प्रतिबद्धता जनाएका थिए। जुन्ता सरकारले जगाएको उत्साहका कारण दर्जनौँ नयाँ दलले शुक्रबार बैंककस्थित निर्वाचन आयोगमा आ–आफ्नो दलको नाम दर्ता गराएका हुन्।
‘सिएम डेमोक्रयाटिक पार्टी’ र ‘थाई युनिटी पार्टी’ जस्ता ठूला राजनीतिक दलले पनि निर्वाचनका लागि नाम दर्ता गराएका छन्।
थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राको दल ‘पिउ थाई’ले सन् २००१ बाट नै हरेक राष्ट्रिय निर्वाचनमा विजय हासिल गर्दै आएको छ। तर, सो दलले भने आगामी निर्वाचनका लागि दल दर्ता गराएको छैन।
थाइल्यान्डमा सैनिक सरकारले विगतदेखि राजनीतिक दल तथा तिनका भातृ संगठनलाई लगाउँदै आएको प्रतिबन्ध खुल्ला गरेको छ। त्यसैले निर्वाचनको आशा जागेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।