काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक अघिल्लो साताको तुलनामा यस साता २८ दशमलव ७४ अंकले घटेर १ हजार ३ सय ४५ दशमलव ९९ अंकमा आइपुगेको छ।
देशले नयाँ अर्थमन्त्री पाएको भोलिपल्ट नेप्से परिसूचक केही सकारात्मक देखिए पनि यो सूचक २४ घन्टा टिक्न सकेन।
योजना आयोगका पूर्वउपाध्यक्ष तथा मौद्रिक नीतिका ज्ञाता अर्थशास्त्री डा युवराज खतिवडा अर्थमन्त्री भएसँगै आर्थिक क्षेत्रमा सुधार आउने आम मानिसको अपेक्षा रहेको छ। तर, घरजग्गा, अटोमोबाइल्सका साथै सेयर बजारको लगानीलाई अनुत्पादक मान्ने धारणामा अडिग खतिवडा अर्थमन्त्रीमा नियुक्ति भएसँगै सेयर बजारका लगानीकर्ता भने त्रसित भएका छन्। उनले सेयर बजारलाई प्रोत्साहन गर्ने नीति ल्याउँदैनन् भन्ने सोचका कारण लगानीकर्ताले सुरक्षित अवतरणको बाटो रोजेको सेयर बजारका जानकारहरु बताउँछन्।
डा खतिवडा अर्थमन्त्री भएसँगै सेयर बजार अझै नकारात्मक हुने सोचका कारण थप घाटा बेहोर्नुको साटो बजारबाट बाहिरीने सोचमा लगानीकर्ताहरु देखिएको सेयर विश्लेकषकहरुले बताएका छन्। उनले अर्थमन्त्रीको कार्यभार सम्हालेलगत्तै बिबिसी नेपाली सेवामा दिएको अन्तर्वार्तामा सोही कुरा दोहोर्याएका छन्।
नेप्सेमा परिसूचक घटे तापनि कारोबार रकम भने बढेको देखिन्छ। यस साता १८ हजार ७५ वटा सेयर कारोबारबाट एक अर्ब ९६ करोड ३८ लाख ७१ हजार रुपैयाँ बराबरका ४५ लाख २६ हजार पाँच सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १५ दशमलव शून्य ४ प्रतिशत बढी हो । गत साता एक अर्ब ७० करोड ७० लाख ६८ हजार रुपैयाँ बराबरका ४२ लाख ४८ हजार सात सय ३० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
त्यस्तै, ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ५ दशमलव २० अंकले घटेर २ सय ८५ दशमलव ३८ अंकमा आइपुगेको छ।
समूहगत आधारमा साताका सूचकांकहरु

यस साता कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी कारोबारको आधारमा अग्रस्थानमा रहेको छ। कम्पनीको २२ करोड ६२ लाख २० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।
त्यस्तै, सेयर कारोबार संख्याको आधारमा प्रभु बैंक अग्रस्थानमा रहेको छ। बैंकको यस साता ८ लाख १२ हजार कित्ता सेयर कारोबार भएको छ।
यसै साता, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको साधारण सेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको ५ लाख ५० हजार कित्ता सेयर सूचीकृत भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।