काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरूलाई बोलाएर कामको गति बढाउन निर्देशन दिएका छन्। उनले सामर्थ्य रहेको तर इच्छाशक्तिमा समस्या देखिएको भन्दै कामको गतिलाई तीव्रता दिन निर्देशन दिएका हुन्।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार बोलाएर उनले गर्न चाहँदा काम भएका उदाहरणहरू प्रस्तुत गर्दै भने, ‘गर्न चाह्यौं भने काम गर्ने सामर्थ्य छ भन्ने ७ दिनमा बाटोहरु टिलिक्क पारेर, खाल्टा पुरेर देखाइसक्यौं। जनताले प्रश्न हाम्रो सामर्थ्यमा होइन, चाहनामाथि गरिरहेका छन्। जुन स्वभाविक छ।’
डेढ वर्षमा गरेका कामबाट आफू आशावादी भएको बताउँदै उनले असाधाण उपलब्धिको बाटोमा अघि बढ्नुपर्ने बताए।
देशको विकासका लागि आफू मात्र छटपटाएर नहुने भएकाले मन्त्री, सचिव र कार्यालय प्रमुखलाई पनि उत्तिकै खट्न निर्देशन दिए। ठट्यौली पारामा प्रस्तु भए, ‘म जति छटपटाएपनि मन्त्री परिषदको टिम चटपटाएन भने केही हुँदैन। मन्त्री चटपटाए पपिन सचिव कुदेनन् भने केही हुँदैन।’
पुँजीगत खर्च बढाउन निर्देशन
प्रधानमन्त्री ओली पहिलो चौमासिकको पूँजीगत खर्चप्रति सन्तुष्ट देखिएनन्। पूँजीगत खर्चको न्युनता डरलाग्दो कुरा रहेको बताउँदै उनले असन्तुष्टि पोखे, ‘यही तरिकाले हुँदैन। फागुनसम्ममा पूँजीगत खर्च ५० प्रतिशत पुर्याउनेगरी अघि बढ्नुपर्छ। विगतका अनुभवका कारण पनि ६६ प्रतिशत पुग्नुपर्ने हो।’
फागुनमा हुने दोस्रो चौमासिकमा सबै मन्त्री र सचिवको कामको मूल्यांकन हुने बताए। केही दिनमै दोस्रो चौमासिकको लक्ष्य निर्धारण गर्न यस्तै बैठक आह्वान गरिने संकेत उनले दिए। असारे विकासलाई निरुत्साहित गर्न उनको निर्देशन थियो।
कमिसनको मलाई हिस्सा चाहिँदैन
प्रधानमन्त्री ओलीले माथिसम्म कमिसनको हिस्सा पुर्याउनुपर्ने भन्दै उठाउनेहरू रहेको विषयमा चासो जनाए। त्यसलाई निरुत्साहित गर्न सचिवलाई लक्ष्य गर्दै भने, ‘प्रधानमन्त्रीलाई हिस्सा चाहिन्छ भन्ने भ्रम छ। त्यसरी मन्त्रीले माग्यो भने नपत्याउनुहोला। मन्त्रीले माग गर्छ भने गलत हो। त्यो हाम्रो नीति होइन।’
आफू स्वच्छ सरकार बनाउन लागिपरेको बताउँदै देशअनुार मन्त्री/सचिवहरुको तलब प्रशस्त रहेको बताए। उनले भने, ‘जनता कस्तो अवस्थामा गुजारा गरिरहेका छन्। हामीले त राम्रै सेवा सुविधा पाएका छौं। भाग्यमानी हौं।’
सहकार्य जरुरी
मन्त्री, राज्यमन्त्री र सचिवबीच, अन्तरमन्त्रालय शक्तिको प्रदर्शन हुने गलत संस्कार रहेको उनले उल्लेख गरे। सबैलाई सहयकार्य गर्न निर्देशन दिएका उनले भने ‘एकआपसमा पारस्परिक सहयोग जरुरी छ।’
विकासमा समेत एक मन्त्रालयको अर्कोसँग साझेदारी नभएकाले बाटो भत्काउनेले बनाउनेलाई थाहा नदिँदा खाल्डाखुल्डीको समस्या आइरहेको उल्लेख गरे। कठमाडौंका खाल्टा गीत धरै सुनिरहेको बताउँदै व्यंग्यात्मक शैलीमा भने, ‘बाटोका खाल्डाको गीत धेरै सुनियो। टिभी हेर्यो त्यही, रेडियो सुन्यो त्यही, अनलाइन खोल्यो त्यही। यसलाई बन्द गरौं। त्यसका लागि सहकार्य गरौं।’
लिपुलेकका विषयमा उत्ताउलिनु पर्दैन
कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा सरकार स्पष्ट रहेको बताउँदै यसबारे भारतसँग कुटनीतिक पहल भइरहेको बताए। महाकाली नदी सीमाना भएको र त्यसको मुहान लिम्पियाधुरा भएकाले भारतले दाबी गर्न नपाउने ओलीको भनाइ थियो। कहिले ध्यान नदिएर, कहिले नक्सामा समस्या भएर र कहिले हिनताबोधका कारण उक्त भूभागमा भारतले दाबी गरेको बताएका उनले भने, ‘वार्ताका माध्यमबाट यो सबै टुंग्याउन पहल गरिरहेका छौं। यस विषयमा कोही उत्ताउलिनु पर्दैन।’
सानो देशलाई हेप्यो-मिच्यो भन्ने अवगालबाट जोगिन पनि भारतले पछि हट्नुपर्ने उनको भनाइ थियो। यसबाट नेपाल-भारतबीचको पुरानो मित्रतासमेत यथावत राख्न सक्ने अवसर भारतलाई रहेको बताए।
(तस्बिर: निमेषजंग राई)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।