नयाँ दिल्ली- भारतको छत्तीसगढ राज्यको एक जंगलमा शुक्रबार बिहान प्रहरी र भारतीय सशस्त्र विद्रोही समूह नक्सलाइटबीच भएको भिडन्तमा परी १० जना विद्रोहीको ज्यान गएको छ। सो भिडन्तमा एक प्रहरीसमेत मारिएका छन्। छत्तीसगढ र तेलङ्गना राज्यको सीमा क्षेत्रमा पर्ने पुजारी कन्कर जंगलमा सो भिडन्त भएको थियो।
विद्रोहीको आक्रमणपछि प्रहरीको जवाफी फायरमा परी ती विद्रोही मारिएको अधिकारीहरुले जनाएका छन्। मारिनेमा नक्सलाइट विद्रोही समूहका एक उच्चस्तरीय कमाण्डर र ६ जना महिला लडाकूसमेत रहेको बताइएको छ।
भारतमा भूमि अधिकारको मुख्य उद्देश्य र मागराखी सन् १९६७ बाट पश्चिम बंगालको नक्सालबारी भन्ने स्थानबाट यो विद्रोह सुरु भएको मानिएको छ। आजसम्म यस विद्रोहमा परी कम्तीमा ६ हजार नागरिकको ज्यान गइसकेको भारतीय अधिकारीहरुले जानकारी दिएका छन्।
भारतमा यो नक्सलाइट विद्रोहलाई सुुरक्षाको प्रमुख चुनौतीका रुपमा लिन थालिएको छ। सुरुमा भारतको छत्तीसगढमा मात्र सिमीत यो विद्रोह हाल आएर अन्य भारतीय राज्यमा पनि फैलिएको छ।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।