काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड'ले द्वन्द्वपीडितका मुद्दा टुंग्याउन अब आफू तात्ने बताएका छन्।
सशस्त्र युद्ध अन्त्य गर्न विस्तृत शान्ति सम्झौता भएको १३ वर्ष पुगेको अवसरमा द्वन्द्वपीडित साझा चौतारीले बिहीबार राजधानीमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन्।
'अहिले मावधकुमार नेपालले त ताप्के तात्नुपर्छ भन्नु भएको छ,’ सँगै रहेका नेकपाका अर्का नेता माधव नेपालको भनाइमा प्रतिक्रिया जनाउँदै प्रचण्डले भने, ‘अस्ति मानवअधिकार आयोगको कार्यक्रमले त तताएकै छ। आज यो तपाईंहरुको कार्यक्रमले मलाई डढ्ने गरी नै तताएको छ। त्यसो हुनाले अब म तातेँ।’
यो कुरामा आफूहरुले द्वन्द्वपीडिको साथ पाउने विश्वास पनि प्रचण्डले व्यक्त गरे। अघिल्लो पटकजस्तो अहिले एकले अर्कालाई धेरै गल्ती गराउने खालको प्रवृत्ति दलहरुमा नभएको भन्दै प्रचण्डले अब समस्या समाधान हुने दाबी गरे।
'यो समस्याको समाधान अब हुन्छ,’ प्रचण्डले भने, ‘अघिल्लो पटक हामीले ऐन बनाउँदा र दुई आयोग बनाउँदा राजनीतिक दलको मन/मनस्थिति र अहिलेको मनस्थितिमा फरक आएको छ। त्यति बेला हामी तीन पार्टी थियौं, कहीँ न कहीँ त्रिपक्षीय विचार देखिएका थिए। अहिले त्यस्तो छैन। हामी एक ठाउँमा आएका छौं।’
एकले अर्कालाई बढी दोषी देखाउने उद्देश्यद्वारा प्रेरित हुँदा सत्य निरुपण र बेपत्ता छानबिनसम्बन्धी पहिलेका आयोगले काम गर्न नसकेको उनको दाबी छ।
‘आयोगमा उजुरी दर्ता गर्दा एकले अर्कालाई धेरै ज्यादती गरेको थियो भन्ने देखाउनका लागि पनि एकविरुद्ध अर्काले मुद्दा हालेका थियौं,’ प्रचण्डले भने, ‘एकका विरुद्ध धेरै उजुरी परुन भन्ने मानसिकता त्यति बेला धेरै थियो।’
आयोगमा पदाधिकारी नियुक्त गर्दा सबै नयाँ नै गर्नुपर्ने मान्यतामा आफू रहेको भन्दै प्रचण्डले कम्तीमा पनि सत्य निरुपण तथा मेलमिलाप आयोगमा सबै नयाँ पदाधिकारी हुने घोषणा गरे।
‘म चाहिँ सुरुदेखि नै आयोगमा पुराना मान्छे राख्न हुँदैन भन्ने मान्छे हुँ,’ उनले भने, ‘अहिले पुराना नै राख्नुपर्छ भन्ने विषय टुंगिएको छैन र सबै नयाँ नै राख्ने हो भन्नेमा पनि हामी गएका छैनौं। आयोगमा नयाँ मान्छे नै राख्नुपर्छ भन्ने वाला मान्छे हुँ म। अब नयाँ नै राखिन्छ। कम्तीमा पनि सत्य निरुपण आयोगमा सबै नयाँ हुन्छ भनेर भन्न सक्छु।’
ऐन संसोधन सर्वोच्चले दिएको आदेशअनुसारै हुने भन्दै प्रचण्डले त्यसको मस्यौदा प्रदेशसम्म छलफलमा लैजाने तयारी भएको जानकारी दिए।
‘विज्ञ र पीडितको पनि सुझाव लिएर विधेयकलाई संसोधन गरिए विगतको जस्तो कमजोरी हुँदैन भन्नेमा नेतृत्वले सोचिरहेको छ,’ प्रचण्डले भने।
उनले आफूहरुले द्वन्द्वकालीन मुद्धामा कहिले पनि आम माफीको कुरा नगरेको पनि बताए।
‘हामीले कहिले पनि ‘बलाङ्केट एमनेस्टी’को कुरा गरेका छैनौं,’ प्रचण्डले भने, ‘हामीले कहिले पनि आम माफीको कुरा गरेका छैनौं।’ (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।