काठमाडौं- निवर्तमान सभामुख कृष्णबहादुर महरा पुर्पक्षका लागि थुनामा पठाउने आदेश विरुद्ध उच्च अदालत पुगेका छन्।
महराले बिहीबार उच्च अदालत पाटनमा जिल्ला अदालतको आदेश त्रुटिपूर्ण भएको भन्दै निवेदन दर्ता गराएका हुन्।
महराले आफुमाथि लागेको जबर्जस्ती करणी उद्योगको आरोप गलत भएको र जिल्ला अदालत तथ्यमा प्रवेश नगरी थुनामा पठाउने आदेश गरेको जिकीर गरेका छन्।
महरालाई जिल्ला अदालत काठमाडौंले संघीय संसद्को सचिवालयकी एक कर्मचारीलाई जबर्जस्ती करणी प्रयास गरेको प्रारम्भिक प्रमाणमा संलग्न देखिएको भन्दै थुनामा पठाएको थियो।
जिल्ला अदालतका न्यायाधीश सुदर्शन राज पाण्डेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।
महरा सभामुख भएको समयमा यस्तो आरोप लागेपछि प्रहरीले पक्राउ गरी जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो।
महराले दायर गरेको निवेदनको प्रारम्भिक सुनुवाई पेसी शुक्रबारलाई तोकिएको छ।
उच्चले उनको निवदेनमा सुनुवाई गर्दै थुनामा पठाउने जिल्लाको फैसला सदर वा बदर गर्ने निर्णय गर्न सक्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।