नेपालगन्ज- बाँकेको राप्ती नदी नियन्त्रणका लागि सुरु गरिएको तटबन्ध निर्माणको काम रोकिएको छ। तीव्र गतिमा काम भइरहेका बेला जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय दाङका आयोजना प्रमुख विनोद चापागाईको सरुवा भएपछि रकम भुक्तानीको समस्या देखाउँदै निर्माण व्यवसायीहरले काम रोकेका हुन्।
तटबन्धको काम रोकिएका कारण बर्सातका बेला बाढीको जोखिम बढ्ने खतरा बढेको जनाउँदै स्थानीयले तत्काल निर्माणको कामलाई निरन्तरता दिने व्यवस्था मिलाउन आग्रह गरेका छन्।
'वर्षौंदेखि राप्ती नदीको कटान र डुबानको चपेटामा छौं। यस हिउँदमा काम राम्रोसँग भइरहेको थियो,' फत्तेपुरका दुर्गा पाण्डेले भने, 'काम भइरहेका बेला आयोजना प्रमुखको सरुवा भएपछि दुई हप्तादेखि निर्माण कार्य रोकिएको छ।'
आर्थिक वर्ष २०७२/७३ देखि बहुवर्षीय ठेक्कामार्फत बाँकेको फत्तेपुरको खल्ला झगडिया र भरैयामा पक्की तटबन्धको काम सुरु गरिएको थियो। सोही ठेक्का अनुसार काम तीव्र गतिमा भइरहेका बेला सिँचाइमन्त्री सञ्जय गौतमले मन्त्रालय छोड्नुभन्दा एक दिनपहिले प्रमुख चापागाईलाई विभागमा काज सरुवा गरिदिएका हुन्। चापागाई गत साउनदेखि सो आयोजनामा कार्यरत थिए। चापागाईंलाई हटाएर मन्त्री गौतमले ७ महिनापछि रिटायर्ड हुन लागेका तिलकबहादुर खत्रीलाई फिल्ड कार्यालय दाङमा सरुवा गरेका हुन्।
मन्त्री गौतम र आयोजना प्रमुख चापागाईबीचको खटपट, सरकार परिवर्तन, सिँचाइ सचिवको सडक दुर्घटनामा मृत्यु, नयाँ मन्त्री र सचिव नियुक्तिमा ढिलाइ जस्ता कारण राप्ती नदीमा तटबन्ध निर्माणको काम रोकिएको हो।
मन्त्री गौतमले मन्त्रालय छोडेकै दिन फागुन ३ गते नै विधि र प्रक्रियाविपरीत आफ्नो सरुवा गरिदिएको आयोजना प्रमुख चापागाईले बताए। विकास निर्माणका आयोजनामा मन्त्रीहरुले ठाडो हस्तक्षेप गर्ने र समय अवधि नपुग्दै आयोजना प्रमुखहरुको सरुवा गर्ने प्रवृत्तिका कारण आयोजनाको काममा अपेक्षित प्रगति नहुने समस्या बढ्दै गएको उनले बताए।
आर्थिक बर्ष २०७५/०७६ को अन्त्यसम्म काम सम्पन्न गर्ने गरी कटानको उच्च जोखिममा रहेको खल्ला झगडिया र भरैया क्षेत्रमा करिब १० किलोमिटर लामो पक्की तटबन्ध निर्माणको काम भइरहेको थियो। जसका लागि अर्थ मन्त्रालयले करिब ९९ करोड लागतको सहमति दिएको थियो।
तर पूर्वमन्त्री गौतम र आयोजना प्रमुख चापागाईबीचको खटपट लगायतका कारण तटबन्ध निर्माणमा असर पुगेको अम्मर मल्ल जेभीका प्रोपराइटर कर्ण मल्लले बताए। काम सम्पन्न भए पनि करिब ३ करोड भुक्तानी नपाएका कारण निर्माणको काम प्रभावित हुन पुगेको उनी बताउँछन्।
'सरकारी निकायबाट सहयोग हुने हो भने लक्षित समयमै काम सम्पन हुन्छ,' उनले भने।
हालसम्म करिब ३० प्रतिशत काम पूरा भई थप निर्माणको काम सन्तोषजनक अवस्थामा अगाडि बढिरहेको छ। गत वर्ष आएको बाढीबाट बाँकेका ३ गाविसको करिब ४ हजार हेक्टरमा लगाएको खेतीबालीमा क्षति पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।