काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। बुधबार उनले मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।
प्रधानमन्त्रीले सिफारिस गरेअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रीसहितको मन्त्रिमण्डल गठन भएको जानकारी समेत गराएकी छन्।
सरकारबाट बाहिरिने मन्त्रीमा भौतिक पूर्वाधार तथा यातायामन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा सामान्य प्रशासमन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, कृषि तथा पशुपन्छीविकास चक्रपाणि खनाल, उद्योगमन्त्री मातृका प्रसाद यादव, कृषिराज्यमन्त्री रामकुमारी चौधरी र स्वास्थ्यमन्त्री सुरेन्द्र यादव परेका छन्।
हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, बसन्त कुमार नेम्बाङ, पार्वत गुरुङ, मोतिलाल दुगड, नवराज राउत र रामवीर मानन्धर नयाँ मन्त्रिपरिषद्मा भित्रिएका छन्।
'नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा मौजूदा मन्त्रिपरिषदमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्य विभाजन गरी देहायबमोजिम मन्त्रिपरिषद् गठन गर्नुभएको छ,' राष्ट्रपतिले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
नयाँ मन्त्रीहरूको सपथ ग्रहणको कार्यक्रम बिहीबार हुने बताइएको छ।
नयाँ मन्त्रीहरुलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराउने छन्।
लामो समयको छलफल र विचारविमर्शपछि प्रधानमन्त्री ओलीले नयाँ मन्त्रिपरिषद् गठन गरेका हुन्। ्
मन्त्रिपरिषद् पुनर्गठनकै लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक पटक पटक बसेको थियो।
उनले अर्का अध्यक्ष प्रचण्ड र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल सँग पनि पटक पटक छलफल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।