काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलायन्स)ले जापानको नारिता उडान योजना रद्द भएको भन्दै लेखेको पत्र फेला परेको छ।
निगमले जापान सिभिल एभिएसन ब्युरो (जापानी नागरिक उड्डयन नियामक)लाई नारिता र हानिदा विमानस्थलमा उडानको योजना रद्द भइसकेको र नयाँ योजना नरहेको जानकारीसहितको पत्र पठाएको खुलेको हो।
जापानस्थित निगमका देशीय प्रतिनिधि (कन्ट्री म्यानेजर) सन्तोष पाण्डेले लेखेको पत्रमा जापानका २ गन्तव्य हानिदा र नारितामा उडानको योजना नै नरहेको उल्लेख छ। यो पत्र नेपाल लाइभले प्राप्त गरेको छ।
निगमले जापान एभिएसन ब्युरोलाई लेखेको पत्रमा भनिएको छ, ‘नेपाल वायुसेवा निगमको जापानको नारिता र हानिदा विमानस्थलमा चार्टर तथा नियमित उडानको कुनै योजना छैन।'
पाण्डेले हस्ताक्षर गरेको पत्रमा नेपाल वायुसेवा निगमले नारिता 'स्लट' पनि रद्द गरिसकेको उल्लेख छ।
'मैले तपाईंको प्रश्नका बारेमा हाम्रो व्यावसायिक निर्देशक टंकनिधि दाहालसँग कुरा गरेँ,' पाण्डेले लेखेका छन्, 'उहाँले जापानको नियमित वा चार्टर उडानका लागि कुनै व्यक्ति वा संस्थालाई जिएसए नियुक्ति गरेको छैन। जापानको ओसाकाबाट काठमाडौंसम्मको उडानका लागि जापान नागारिक उड्डयन ब्युरोबाट अनुमति प्राप्त गर्ने प्रक्रिया बिथोल्न चलाइएको हल्लाको पछाडि नलाग्न म अनुरोध गर्दछु।’
मासिक प्रगति विवरण तथा भावी योजनाको विषयमा बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा समेत निगमले मार्चदेखि जापानको नारिता उडान गर्ने भन्दै मन्त्री योगेशकुमार भट्टराईलाई भुलाउने प्रयास गरेको थियो। निगमले नारिता उडानको योजना कायमै रहेको बताएपछि मन्त्रालयका अधिकारीहरुले पाण्डेले लेखेको पत्र देखाउँदै निगम अध्यक्ष मदन खरेलको प्रतिवाद गरेका थिए।
तर, निगमले अहिले घाटाको गन्तव्य ओसाका उडान भने गरिरहेको छ। पर्यटन मन्त्रालयले पनि गत असारमा जापानको नारिता विमानस्थलमा उडान गर्नकै लागि नेपाल एयरलाइन्सलाई सहजता खोज्दै हवाई सम्झौता पुनरवलोकन गरेको थियो।
ओसाका उडानकै विषयमा निगमको ६१ औं वार्षिक उत्सव समारोहमै प्रधानमन्त्री केपी शर्मा ओलीले घाटाको गन्तव्यममा किन उडान भनेर प्रश्न गरेकका थिए। तर, निगमका कार्यकारी अध्यक्ष खरेलले जबरजस्ती नारिताको सट्टा ओसाका उडान सुरु गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।