काठमाडौं- कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या काण्डका विषयमा जथाभावी समाचार लेखन तथा प्रसारण गरेको भन्दै मानसखण्ड दैनिकका सम्पादक खेम भण्डारी पक्राउ परेका छन्।
उनलाई मंगलबार दिउँसो कञ्चनपुरबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
निर्मला पन्तको बलात्कार र हत्याका विषय अदालतमा विचाराधीन मुद्दा प्रभावित पार्न खोजेको भन्दै कञ्चनपुर जिल्ला बारले दायर गरेको मुद्दामा कञ्चनपुर जिल्ला अदालतले उनलाई एक घन्टा कैद र १ रुपैयाँ जरिवाना सुनाएको थियो।
तर सम्पादक भण्डारीले सो जरिवाना तिरेका थिएनन् भने कैद समेत भुक्तान गरेका थिएनन्।
जिल्ला अदालतका न्यायाधीश राजेन्द्र आचार्यको एकल इजलासले यस्तो फैसला गरेको थियो।
प्रहरीले गरेको अनुसन्धानले निर्मलाको बलात्कार तथा हत्या दिलिपसिंह विष्टले गरेको देखाएको थियो।
तर भण्डारी सम्पादक रहेको पत्रिका मानसखण्डले विष्टले त्यस्तो अपराध गर्नै नसक्ने भन्दै समाचार प्रसारण गर्दै आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।