राजविराज- गत असोज १३ गते नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएको छ। खुला दिसामुक्त घोषणा भएपछि पहिलो पटक नेपालले पनि विश्व शौचालय दिवस मंगलबार मनाउँदैछ। खुला दिसामुक्त घोषणा गरिए पनि नेपालका धेरैले चर्पी बनाएका छैनन्। बनाइएका शौचालय पनि प्रयोगमा आएका छैनन्। विश्व खुला दिवस मनाइरहँदा सम्बन्धित निकायको ध्यान जाओस् भन्ने उद्देश्यले हामीले शौचालयको वास्तविक अवस्थाबारे सामग्री तयार पारेका छौं।
नेपाल खुला दिसामुक्त हुनअघि २०७४ चैत महिनामा सप्तरीलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो। लगतै सामाजिक संजालमा भाइरल भएको सप्तरीकै सदरमुकाम राजविराज नगरपालिकाको वडा नम्बर १२, सिंग्यौनस्थित मुसहरी बस्तीका एक परिवारको चुल्होसँगै बनाइएको शौचालयको तस्बिरले धेरैको ध्यान खिच्यो। त्यो तस्बिरमा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने हतारोमा झुप्रोमा बस्ने सुकुम्वासी मुसहर समुदायप्रति ‘भद्दा मजाक’ गरेको सन्देश थियो।
सन् २०१७ भित्रै सप्तरीलाई खुल्ला दिसामुक्त घोषणा गर्ने योजना असफल भएपछि शौचालय निर्माणमा जुटेका जिल्ला सरसफाई तथा स्वच्छता समन्वय समितिलगायतका सरोकारवालाहरूको आक्रमक व्यवहारका कारण मुसहर समुदायले भोगेको अफ्ठेरो र अपमानको यथार्थ चित्रण थियो– त्यो तस्बिर।
दिनदिनैको कचकच र अपमान सहन नसकेर रुनाई सदाले भान्सामै शौचालय निर्माण सुरु गरेका थिए। तर, आर्थिक समस्याका कारण उनको शौचालय पूरा हुन सकेन। ‘शौचालय बनाउनैपर्छ भन्ने बाहेक अर्को कुरै नसुनेपछि ठाउँ नहुँदा भान्सा छेउमै प्यान गाड्यौं,’ रुनाईका भाई महेश्वर भन्छन्, ‘तर, अहिलेसम्म पनि शौचालय बनाउन सकेको छैन।’
शौचालय निर्माण सुरु गरेपछि महेश्वर आफै बिरामी परे। लामो समयसम्म रोगको पहिचान हुन नसक्दा एकपछि अर्को अस्पताल धाउँदाधाउँदै समय बित्यो। अन्त्यमा किड्नी ड्यामेज भएको थाहा पाएपछि धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएर उनको एउटा किड्नी निकालिएको छ। आर्थिक र शारीरिक रूपमा गलिसकेका रुनाई र महेन्द्र भन्छन्, ‘त्यस्तो अवस्थामा शौचालय बनाउने पैसा जुटाउन असम्भव नै थियो।’
यसैबीचमा जिल्लालाई खुला दिसामुक्त घोषण गरियो। रुनाईजस्ता कयौं सुकुम्वासी र मुसहरका घरमा शौचालय बन्न बाँकी नै थिए। २०७४ चैत २१ गते प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्रकुमार सोनलले सप्तरीलाई ‘खुला दिसामुक्त’ घोषणा गर्दा सप्तरीका कुल १ लाख १९ हजार ६ सय ८२ मध्ये अधिकांश घरधुरीमा शौचालय बनिसकेको तथ्यांक प्रस्तुत गरिएको थियो।
सप्तरीमा बनेका शौचालय पनि अधिकांश भत्किएका छन्। लक्ष्मण सदा, हरौनी सदा, जगरनाथी सदा, राजकुमार सदा, देवकी सदा, खुदाई सदा, विनय सदा, जिरिया सदा, सुन्दर सदा, श्याम सदा, वतहु सदालगायतका शौचालय भत्किएर प्रयोग गर्नै नमिल्ने भएका छन्। खर्च नहुँदा मर्मत सम्भार गर्न नसकिएको उनीहरूको भनाइ छ।
सरोकारवाला निकायले निगरानी नगर्दा बनेका शौचालय पनि घरायसी सामग्री राखनधरनका लागि प्रयोग गरिएको छ। दिसापिसाब गर्न नजिकैको झाडी तथा बगैंचामा जाने गरेको स्थानीयहरु स्वीकार्छन्।
वडाअध्यक्ष हरिहरप्रसाद यादवले पनि मुसहरी टोलमा शौचालय निर्माण र प्रयोगको अवस्था चिन्ताजनक रहेको बताए। ‘हचुवाकै भरमा जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरियो। मैले त्यसै बेला त्यो विषयमा आपत्ति जनाएको थिएँ,’ उनी भन्छन्, ‘तर, मेरो कुरा कसैले सुनेनन्।’ शौचालय पूर्ण रूपमा नबनाई लहलहैमा लागेर जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरिएको उनको भनाइ छ।
मुसहर समुदायमा सधैभर खानलाउनकै समस्या हुने गरेको बताएका उनले भने, ‘आज कमाएर आजै खान्छन्, भोलिका लागि एक पैसा पनि रहँदैन। त्यस्तो समुदायलाई जबर्जस्ति शौचालय बनाउन दबाब दिएर उद्देश्य कसरी पूरा हुन्छ?’ अहिले पनि कसैले सहयोग नगरे उनीहरुले शौचालय बनाउन नसक्ने भन्दै नगरपालिका र सम्बन्धित निकायले यस विषयमा गम्भीर भएर सोच्नु पर्ने उनले बताए।
राजविराज नगरपालिकाका सूचना अधिकारी मनोज यादवले भने नगरपालिकाले अहिले पनि शौचालयको प्रयोगको अवस्था बुझ्न अनुगमन गरिरहेको बताउँदै शौचालय नबनेका र बनेर पनि प्रयोगमा नआएका ठाउँमा के गर्ने भन्ने विषयमा योजना बनाएर अगाडि बढ्ने बताए। ‘हामी अनुगमन गरिरहेका छौं। त्यस विषयमा योजना बनाएर काम हुन्छ,’ उनले भने।
सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्न पूर्ण सरसफाइयुक्त नेपाल निर्माण गर्ने संकल्प पूरा गर्ने अभियानमा खुल्ला दिसामुक्त घोषणालाई सरकारले ‘सामाजिक उत्थानको क्षेत्रमा ठूलो उपलब्धि’ पनि भनेको छ। खानेपानी मन्त्रायलको तथ्यांकअनुसार नेपाललाई खुला दिसामुक्त घोषणा गर्न सक्ने अवस्थामा पुर्याउन कुल ५६ लाख ६० हजार २ सय १४ घरधुरीमा शौचालय निर्माण भएका छन्। तथ्यांकअनुसार प्रदेश २ मा मात्रै ९ लाख ३३ हजार ६ सय ४९ घरधुरी शौचालय निर्माण गरिएको छ भने हरेक जिल्लाका अधिकांश घरधुरीमा शौचालय निर्माण भइसकेको तथ्यांक प्रस्तुत गरिएको छ।
तर, सरकारको दाबीलाई तिनै रुनाई सदा र मुसहरी टोलले अहिले पनि गिज्याइरहेको छ। खुला दिसामुक्त घोषणा भएको दिनदेखि नै शौचालय निर्माणको कुरा ‘एकादेशको कथा’ झैं भएको छ। दलित तथा सुकुम्वासी बसोबास रहेको यो बस्ती अहिले पनि शौचालयविहीन नै छ। ६० घर परिवार बसोबास रहेको बस्तीमा अहिले पनि आधा घरमा शौचालय बनेकै छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।