हृदयघात (हार्ट अट्याक) सामान्यतया मुटुको मांशपेशीका कोषहरु मरेपछि देखिने रोग हो। मुटुबाट शरीरका अन्य भागमा रगत पुर्याउने रक्तनली जस्तै मुटुमा पनि रगत पुर्याउने रक्तनलीहरु हुन्छन्। जसलाई कोरोनरी रक्तनली भनिन्छ।
कोरोनरी रक्तनलीहरु विस्तारै साँघुरिदै जानु र रक्तसञ्चारमा रोकावट आउनुलाई ‘कोरोनरी हार्ट डिजिज’ भनिन्छ। हृदयघात कोरोनरी मुटु रोगको गम्भीर रुप हो। मुटुका मांशपेशीहरुमा रक्त सञ्चालन गर्ने रक्तनली पूर्ण रुपले बन्द भई मुटुका मांशपेशीका कोषहरु मर्नुलाई नैै हृदयघात भन्ने गरिन्छ। यो रोग पुरुषहरुलाई बढी हुने गर्छ। त्यसमा पनि जति उमेर बढ्दै गयो हृदयघातको जोखिम पनि उति नै बढी हुन्छ।
कोरोनरी हार्ट डिजिज वंशाणुगत पनि हुन्छ। तर, खानपिन र जिवनशैलीका कारण आजकाल युवालाई पनि हृदयाघातको जोखिम छ। हृदयघातका कारण विशेषगरी दुई किसिमका हुन्छन्, एउटा नियन्त्रण गर्न सकिने र अर्को नियन्त्रण गर्न नसकिने। उमेर, लिंग, वंशाणुगतका कारण हुने हृदयघात नियन्त्रण गर्न सकिँदैन। उमेर बढ्दै जाँदा रक्तनली साँघुरिने क्रम बढ्छ र कोरोनरी हार्ट डिजिज वा हृदयघात हुन्छ। तर, हाम्रो खानपान र जिवनशैलीसँग सम्बन्धित केही यस्ता कारणहरु छन्, जुन नियन्त्रण गरेर हृदयघात हुनबाट बच्न सकिन्छ।
जीवनशैलीका कारण हुने हृदयघात
धूमपान
अत्याधिक धूमपान गर्नेहरुको कोरोनरी रक्तनलीहरुमा बोसोको मात्रा बढेर रक्तनलीहरु साघुँरिदै जान्छ। रक्तनली साघँुरिदै जाँदा मुटुलाई आवश्यक पर्ने रगत सञ्चार कम हुँदै जान्छ र हृदयघात हुने सम्भावना बढ्छ।
उच्च रक्तचाप
रगतले रक्त नलीहरुमा एक प्रकारको चाप पैदा गर्छ, त्यसैलाई रक्तचाप भनिन्छ। उच्च रक्तचाप हुनु भनेको रक्तनलीको चाप बढ्नु हो।
जसका कारण कोरोनरी हार्ट डिजिज र हृदयघातको जोखिम उच्च हुन्छ।
सुगर
सुगरले विस्तारै रक्तनलीमा परीवर्तन ल्याउँछ। रक्तनली साँघुरिदै जान्छ र बिरामीलाई हृदयघात हुने जोखिम बढ्छ।
उच्च कोलेस्टेरोल
उच्च कोलेस्टेरोल भन्नाले रगतमा बोसोको मात्रा बढ्नु हो। उच्च कोलेस्टेरोल विशेष गरी अस्वस्थ खानपिनका कारण हुन्छ। तर, केहीमा भने यो वंशाणुगत नै आएको हुन्छ। यसका कारण पनि रक्तनलीमा बोसोको मात्रा जम्मा हुँदै जान्छ। बोसोले बिस्तारै रक्तनली साघुँरिदै जान्छ र मुटुमा रगत प्रवाह कम हुन थाल्छ। त्यसैले उच्च कोलेस्टेरोल हुने व्यक्तिलाई हृदयघातको सम्भावना बढी हुन्छ।
हृदयघातका लक्षण
१) एक्कासी छातीको मध्य भागमा थिच्चिएको, कस्सिएको, पोल्ने र गह्रौँ भएको जस्तोगरी दुख्ने,
२) सास फेने गाह्रो हुने,
३) दुखाइ छातीको बाँयातिर, घाँटीमा, काँधमा, गिजातिर र डढाल्नु तिर पनि सर्दै जान सक्छ।
हृदयघातबाट बच्ने उपाय
१) धूमपान, सूर्तिजन्य पदार्थ र मादक पदार्थको सेवन नगर्ने,
२) खानपिनमा विशेष ध्यान दिने। नुन, चिल्लो–पिरो कम खाने,
३) नियमित व्यायम गर्ने,
४) तनाव कम लिने,
५) शरीरमा अनावाश्यक वजन भए घटाउने,
६) उच्च रक्तचाप/सुगर/कोलेस्टेरोल सम्बन्धी समस्या भएकाहरुले नियमित स्वास्थ्य परीक्षण गर्ने,
७) अत्याधिक छाती दुखेमा छिटोभन्दा छिटो चिकित्सककोमा जाने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।