राजविराज- झन्डै दुई दशकपछि चर्चित गायक उदितनारायण झा बुधबार आफ्नो जन्मस्थल सप्तरीको भारदह आइपुगेका छन्।
गायक झा जेठी पत्नी रञ्जनासहित हनुमाननगर कंकालनी नगरपालिका–१ भारदहस्थित आफ्नो घरमा आएका हुन्। गायन पेसामा लागेर लामो समयदेखि भारतको मुम्बईमा बसोबास गर्दै आए पनि उनका दाजुभाइ भने भारदहस्थित घरमै बस्दै आएका छन्।
स्थानीय पत्रकारसँग भारदहमा छोटो कुराकानी गर्दै गायक झाले आफू एक हप्ता जन्मथलोमा बस्ने र लामो समयदेखि भेटघाट नभएका साथीभाइसँग भेटघाटसमेत गर्ने बताए। मिथिला क्षेत्रमा मनाइने होली पर्वसमेत यसपालि जन्मथलो भारदहमै मनाउने योजना रहेको उनले बताए।
गायक उदितनारायण आफ्नो जन्मथलो आउनेबित्तिकै सबैभन्दा पहिले भारदहस्थित कंकालनी मन्दिरमा पूजापाठ गरेका थिए।
गायक झा आएको थाहा पाउनेबित्तिकै उनीसँग भेट्न जानेहरुको घुइँचो लागेको स्थानीय आकाशराज भण्डारीले बताए।
बलिउडमा स्थापित भएपछि दीपा झासँग दोस्रो विवाह गरेलगत्तै जेठी पत्नी रञ्जनासँग उनको सम्बन्ध बिग्रेको थियो। तर अहिले दुवैको सम्बन्ध सुमधुर भएको पारिवारिक स्रोतले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।