काठमाडौं– शिशिरलाई बिदा गर्दै संघारमा वसन्तको आगमन हुँदैछ। रुखहरुले पालुवा हाल्ने तरखर गर्दैछन्। फूलहरु फक्रँदैछन्। यही रम्य परिवेशमा उमंग थप्न आइपुगेको फागु अर्थात् होली।
रङ तथा अबिर दलेर आपसी सद्भाव, भाइचार अनि प्रेम साटासाट गर्ने पर्व हो होली। यो कुनै जातिको पर्व होइन। कुनै भूगोल विशेषको पनि होइन। सबै धर्म सम्प्रदाय अनि उमेर समूहका लागि प्रिय पर्व हो होली।
हरेक वर्ग, क्षेत्रमा रहेकाहरुले आफ्नै तौरतरिकाबाट होलीलाई सेलिब्रेट गर्ने गर्छन्। यहाँ हामीले केही कलाकर्मीको होली अनुभवलाई सेयर गर्ने प्रयास गरेका छौं।
हास्य कलाकार मनोज गजुरेल
होलीका विषयमा खुब खुलेर बोले हास्य कलाकार मनोज गजुरेलले। बाल्यकाल ताप्लेजुङको दुर्गम स्थानमा बितेकाले होलीले कुनै प्रभाव नपरेको उनी सुनाउँछन्। जब उनी पूर्वी पहाडी जिल्लाबाट तराई झरे, त्यसपछि मानिसहरुले एकअर्कामा रङ साटासाट गरेको देखे। तर उनलाई त्यसले खासै अर्थ राखेन। जब उनी काठमाडौं आए तब मात्र होली महत्व र विशेषता बुझ्न पाए। मित्रतालाई प्रगाढ बनाउने, रङका माध्यमबाट परिवार र आफन्तसँग माया साटासाट गर्ने, सद्भाव कायम गर्ने पर्वको रुपमा उनले लिएका छन्।
होलीमा उनी त्यति धेरै रङ प्रयोग गर्दैनन् तर साथीभाइ र परिवारजनसँग सेलिब्रेट गर्न भने छाड्दैनन्।
यस पटक भने उनी उपत्यकाबाहिर तराईका जिल्लामा छन्। त्यसैले विशेष कार्यक्रम नरहेको सुनाए। ‘यसपालिको होली मनमा हुनेछ,' उनले ठट्यौली गरे, 'अरुले खेलेको होली भिडियोमा हेरेर हामी रमाउनेछौं।’
गायक आनन्द कार्की
भारतको लखनऊ छँदा होली खुब मनाउने गर्थे गायक कार्की। अघिल्लो साँझ नै होलिका दहन गरी भोलिपल्ट दिनभर रङ खेले मजा लुट्ने गरेको उनी बिर्संदैनन्।
जब उनी नेपाल आए यहाँ त होलीलाई परम्परा र संस्कृति होइन कि विकृति जस्तो पाए। 'फोहोर पानी र लोलाले जथाभावी हान्ने प्रवृत्ति छ यहाँ,' उनले गुनासो गरे, 'सद्भावको पर्वमा यसरी अरुलाई दु:ख दिन त भएन नि।'
होली एक सच्चा पर्व, सद्भाव र उमंगको रुपमा मनाए परम्पराले युगौंयुग निरन्तरता पाउने उनी बताउँछन्।
अभिनेता दयाहाङ राई
आफूले धेरै रङ प्रयोग नगरे पनि अरुले होली खेलेको देखेरै रमाउँछन् अभिनेता दयाहाङ। नेपालमा होलीलाई पर्वको रुपमा भन्दा पनि देखासिकीका रुपमा मनाउन थालिएको उनले चिन्ता व्यक्त गरे।
यस पटकको होली भने उनी मण्डला थिएटरमा रंगकर्मीहरुसँग मनाउँदैछन्।
संगीतकार अर्जुन पोखरेल
संगीतकार अर्जुन पोख्रेललाई सम्झना छ, बाल्यकालीन होलीमा उनी खुब रमाउँथे। तर पेसागत अनि पारिवारिक जिम्मेवारीबोधले बाल्यकाल जस्तो खुलेर रमाउन नसकिने बताउँछन् उनी।
जबर्जस्ती लोला हान्नेहरुप्रति उनको असहमति छ। किनकि उनले बुझेका छन् होलीले अराजकता होइन सद्भाव निम्त्यानुपर्छ।
काठमाडौं आएपछि उनले केही वर्ष होलीलाई निरन्तरता दिए। तर शरीरमा एलर्जीको समस्या देखा परेपछि होलीसँगको घुलमिल टाढिँदै गयो। 'त्यसपछि त हल्का टीका लगाएर मात्र होली मनाउने गरेको छु,' उनले भने, 'आज पनि सामान्य रुपमै मनाउने विचारमा छु।'
तर उनलाई पछिल्लो समय होलीमा मिसिएको विकृति चित्त बुझेको छैन। फोहोर पानीको प्रयोग, जबर्जस्ती रङ छ्याप्न्, महिलामाथिको दुर्व्यवहार जस्ता कार्यले उनको मन दुख्छ। आफू नै सचेत भएमात्र संस्कृतिलाई सभ्य बनाउँदै लान सकिने उनले सुझावसमेत दिए।
गायिका मीना निरौला
भारतको मनिपुरमा हुर्किइन् गायिक निरौला। तर त्यहाँको जस्तो होली रौनक नेपालमा पाउन सकिनन्।
यस पटकको होली भने उनी स्याङ्जामा मनाउँदैछिन्। त्यहाँ हुने कार्यक्रममा गीत सुनाउँदै उनले होलीलाई रंगीन बनाउनेछिन्।
अभिनेत्री प्रियंका कार्की
प्रियंकालाई होली खेल्न खासै मन पर्दैन। आफ्नो कलेज लाइफ अमेरिकामा बितेकाले होलीलाई नजिकबाट बुझ्न नपाएको उनले बताइन्
उनी आज कामको सिलसिलामा पोखरा जाँदैछिन्।
रङ मन पर्ने भए पनि जबरजस्ती अरुलाई लोला हान्ने प्रवृत्ति देख्दा उनी दिक्क छिन्। आपसी सहमतिमा रङ दलेर मनाए मात्र होली रमाइलो हुने उनले बताइन्।
मिस नेपाल सुगरिका केसी
२००५ की मिस नेपाल विजेता सुगरिकाको प्रिय चाडमा होली पर्दैन। आफ्नो शान्त स्वभावका कारण पनि होलीको भिडले उनलाई खासै तान्दैन। 'तर म घरपरिवारसँग बसेर नै होली भने मनाउँछु,' उनले भनिन्।
सन् २०११ को होली भने विशेष गरेको उनले स्मरण गरिन्। आफूले रङ नखेले पनि अरु साथीहरुले खेलेको हेरेरै रमाउने गरेको उनी सुनाउँछिन्।
‘केही वर्षअघिको भन्दा पोहोर र अहिलेको होली सभ्य बन्दै गएको पाएको छु,' उनी भन्छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।