जनकपुर- प्रदेश २ को प्रादेशिक लोकसेवा आयोगले काम थालनी गरेको छ। आयोगले रिक्त दरबन्दीको विवरण प्रदेश सरकारसँग माग गरी काम अघि बढाउन थालेको छ।
गठन भएको करिब अढाई महिनापछि आयोगले पहिलो चरणमा प्रदेशमा रिक्त रहेका कर्मचारीको विवरण प्रदेश सरकारसँग मागेको छ।
आयोगका अध्यक्ष प्रा. सुरेन्द्रप्रसाद यादवले कार्यालय सञ्चालनमा आएसँगै प्रदेश सरकारसँग कर्मचारीको रिक्त दरबन्दीको विवरण माग गरेको बताए।
‘प्रदेश सरकारले विवरण दिनेवित्तिकै हामी विज्ञापनको प्रक्रियालाई अगाडि बढाउँछौं,’ उनले भने।
गत भदौ ५ गते यादवलाई अध्यक्षमा नियुक्त गरिएको थियो। उनको नियुक्तिको करिब तीन महिनापछि डा. सुजाता देव र महारुद्र झालाई कात्तिकको पहिलो साता नियुक्त गरिएको थियो।
अध्यक्ष यादवले आयोगले पूर्णता पाएको र कार्यालयसमेत स्थापना भएपछि आफूहरु काममा जुटिसकेको बताए।
अध्यक्ष यादवले भने, ‘हाम्रो पहिलो काम नै प्रदेशभित्रको कर्मचारी अभाव हटाउनु हो। रहेको हुँदा त्यसै अनुसार कामलाई अगाडि बढाएको छु।’
प्रदेशका मुख्य सचिव दीपक सुवेदीले आयोगबाट विवरण माग गरिएको पत्र प्राप्त भइसकेको बताए। उनले आयोगबाट पत्र प्राप्त भएदेखि नै रिक्त दरबन्दीको माग फारम भर्ने कामलाई अगाडि बढाए बताए।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता दिनेश साहले प्रदेशको आठ वटै जिल्लाको जिल्ला प्रशासन र मन्त्रालयहरुमा रिक्त कर्मचारीबारे जानकारी मागिएको र अहिले मन्त्रालय र जिल्ला प्रशासन कार्यालयहरुले विवरण संकलन गरिरहेको जानकारी दिए।
मुख्य सचिव सुवेदीको अनुसार मंसिर महिनाभित्र रिक्त दरबन्दी विवरण संकलन गरी आयोगलाई बुझाउने तयारी रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।