काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा अर्थात होलीका अवसरमा शुभकामना सन्देश जारी गर्दै यो पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव एवं राष्ट्रिय एकता कायम राख्न मद्दत पुर्याउने बताएकी छन्।
जातीय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम संगमका रुपमा रहेको हाम्रो मुलुकमा सबै नेपालीले खुसी र हर्षोल्लासपूर्वक रङमा रमाएर पर्व मनाउने गरेको उल्लेख गर्दै उनले यस महान् पर्वले सबै नेपालीमा खुसीका रङ छर्दै नयाँ उमंग एवं हर्षोल्लास प्रदान गरोस् भन्ने कामना गरेकी छन्।
सबै नेपालीबीचको एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्ने उत्प्रेरणा सबैमा प्रदान गरोस् भन्ने शुभकामनासमेत व्यक्त गरेकी छन्।
उपराष्ट्रपति नन्दबहादुर पुनले पनि वसन्त ऋतुको आगमनसँगै आउने यस पर्वले नेपाली समाजलाई एक सूत्रमा जोडेर आपसी सद्भाव, सहिष्णुता र भाइचारा अभिवृद्धि गर्दै राष्ट्रियतालाई बलियो बनाउने उल्लेख गरेका छन्।
सन्देशमा उनले यस पर्वले संप्तरंगी जस्तै समृद्धिका विभिन्न आधारहरुको तीव्र विकासका माध्यमबाट प्रत्येक नेपालीको आर्थिक, सामाजिक रुपान्तरणसहितको समुद्ध नेपाल निर्माणको महाअभियानमा सहभागी हुन सबै नेपालीलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।