काठमाडौं– डाक्टरको लापरवाहीबाट दुवै आँखाको ज्योति गुमाएकी सृष्टि केसीको जीवनकथामा बनेको फिल्म ‘ब्लाइन्ड रक्स’को प्रिमियर शो सम्पन्न भएको छ।
बुधबार कुमारी हलमा आयोजित प्रिमियरमा विभिन्न फिल्मकर्मी, सञ्चारकर्मीका साथै आफ्नै जीवनकथाको साक्षी बन्न सृष्टि पनि आमाको साथमा उपस्थित थिइन्। १४ वर्षको उमेरमा दृष्टि गुमेपछि समाजमा अन्य सामान्य व्यक्तिसरह आफूलाई सबल साबित गर्न सृष्टिले गरेका संघर्षलाई फिल्ममा प्रस्तुत गरिएको छ। सृष्टिको भूमिकामा बेनिसा हमाल देखिएकी छन्।
दृष्टिविहीन हुँदाका संवेदनालाई बढी जोड दिइएको फिल्म हेरेर हलबाट निस्किने अधिकांश दर्शकले सृष्टिको जीवनकथा हेरेर आँसु नै झरेको प्रतिक्रिया दिए।
कलाकार दीपाश्री निरौलाले फिल्म निकै उत्कृष्ट बनेको बताइन्। उनले भनिन्, 'ब्लाइन्ड रक्स टिम सबैले राम्रो काम गरेको रहेछ। खासगरी मिलन चाम्सले कथावस्तुलाई न्याय दिनुभएको छ र बेनिसा हमालले अभिनयको जादु नै देखाएकी छन्।'
त्यसैगरी, अभिनेता प्रज्वल सुजल गिरिले फिल्म हरेक दर्शकका लागि प्रेरणाको स्रोत बन्न सक्ने भन्दै बेनिसाको अभिनय पनि सशक्त रहेको बताए। स्क्रिप्ट राइटर प्रदीप भारद्वाजले यस्ता फिल्म नेपालमा बनेको देख्न पाउँदा गर्व लागेको सुनाए।
युके, हङकङ, मकाउ लागायत देशमा प्रदर्शन भएर दर्शकको माया पाइसकेको फिल्म नेपालमा शुक्रबारबाट प्रदर्शनमा आउँदै छ।
मिलन चाम्सको निर्देशनमा बनेको फिल्ममा अभिनेत्री बेनिसासँगै गौरी मल्ल, अर्पण थापा, बैंकर अनिल केशरी शाह, वसन्त भट्ट लगायत कलाकारहरुको अभिनय छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।