एजेन्सी- सिरियाको राजधानी दमास्कस नजिकै रहेको गुटा नगरमा जारी आक्रमणबाट सयौं सर्वसाधारण र बालबालिका प्रभावित भएको भन्दै संयुक्त राष्ट्र संघले तत्काल युद्धविराम गर्न पुन: आग्रह गरेको छ।
उक्त क्षेत्रमा चार लाख सर्वसाधारण हिंसात्मक युद्धको चपेटामा परेका छन्। उनीहरुको उद्धार र आवश्यक मानवीय सहायताका लागि कुनै पहल सुरु नभएको बताइएको छ।
दमास्कस र मस्कोको सहभागितामा गुटा नगरमा भएको हवाई कारबाही स्थगित गरी कम्तीमा ३० दिनका लागि युद्धविराम गर्न राष्ट्रसंघको सुरक्षा परिषद्ले प्रस्ताव गरेको थियो। सुरक्षा परिषदमा भएको छलफलपछि तत्काल युद्धविराम गर्न राष्ट्र संघका महासचिव एन्टोनियो गुथ्रेसले केही दिनअघि आग्रह गरेका थिए। तर, राष्ट्र संघको प्रस्ताव अनुसार युद्धविरामका लागि तयारी भएको छैन।
विद्रोही नियन्त्रित उक्त क्षेत्रमा रुसी सहयोगमा सिरियाली सरकारी फौजले आक्रमण जारी राखेको छ।
गुटा नगरमा गत एक साताभन्दा लामो समयदेखि जारी रहेको भीषण हमलामा क्लोरिन ग्यास समेत प्रयोग गरेको एउटा चिकित्सक समूहले जानकारी दिएको छ।
सिरियामा जारी हवाई हमलाको विश्वव्यापी निन्दा भइरहेको छ। (रासस/एएफपी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।