



काठमाडौं– नियुक्त भएको तेस्रो दिन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ निरीक्षण भ्रमणका क्रममा नेपाल प्रहरीको मुख्यालय नक्साल पुगेका छन्।
निरीक्षणपछि बरिष्ठ प्रहरी अधिकारीहरुलाई निर्देशन दिदै उनले नेपाल प्रहरीलाई विश्वकै रोलमोडल बनाउन सकिने र यसका लागि नयाँ योजना र नयाँ संरचनाको बिकासकासाथ अगाडि बढिने बताएका छन्। इतिहासले दिएको नयाँ चुनौतीमाथि सफलता हासिल गर्न सबैको साथ, सहयोग र समन्वय आवश्यक रहेको भन्दै आफ्नो योजनामा साथ पदन उनले आग्रह गरेका छन्।
मन्त्री बादलले प्रदेश प्रहरी ऐन तथा क्षेत्राधिकारका साथै पदोन्नती, साधनस्रोतको अभाव लगायतका समस्या रहेको चर्चा गर्दै ती समस्या समाधान गर्न आफु केन्द्रीत हुने बताएका छन्
कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले संघ र प्रदेशका प्रहरी कार्यक्षेत्र स्पष्ट र सरल विभाजनको लागि संघीय प्रहरी ऐन यथाशीघ्र जारी हुनु आवश्यक रहेको बताए। उनले नेपाल प्रहरीको व्यावसायिकता अभिवृद्धि र स्रोतसाधन व्यवस्थापनमा मन्त्रालयको उल्लेख्य भूमिका रहने विश्वास व्यक्त गरे।
एकात्मकबाट संघीय राज्य प्रणालीमा प्रवेश गर्ने अवसर नेपाल प्रहरीको परिप्रेक्ष्यमा नितान्त नौलो र अनुभवरहित रहेको बताउँदै महानिरीक्षक अर्यालले मन्त्रालयबाट नीतिगत स्पष्टतासहितको सहजीकरण भएमा संघीयतातर्फ सहज अवतरण गर्न सकिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।