काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद् पुनर्गठनका सम्बन्धमा सचिवालय बैठकमा कुनै छलफल नभएको बताएका छन्।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकपछि बाहिरिने क्रममा संक्षिप्त प्रतिक्रियाका दिँदै श्रेष्ठले यस्तो बताएका हुन्।
'कार्यकारी अध्यक्ष प्रचण्डलाई दिने र कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेललाई दिने विषयमा छलफल भएन। यो विषयमा बैठक प्रवेश नै गरेन,' संचारकर्मीले राखेको जिज्ञासमा प्रवक्ता श्रेष्ठले भने, 'मन्त्रिपरिषद् पुनर्गठनका सम्बन्धमा सचिवालय बैठकमा कुनै छलफल भएन।'
बैठकमा पार्टीको कार्यकारी अध्यक्ष प्रचण्डलाई दिने कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलाई दिने विषयमा छलफल हुने अनुमान गरिएको थियो।
सोही बैठकले नेकपाको प्रवास कमिटीमा रहने सदस्यको जिम्मेवारी भने टुंगो लगाएको छ।
कमिटीको इन्चार्जमा वृन्दा पाण्डेय, सह इन्चार्ज लक्ष्मण पन्त, अध्यक्ष युवराज चौलागाईलाई जिम्मेवारी दिइएको छ भने श्रीप्रसाद साहले सचिवको जिम्मेवारी पाएका छन्।
बैठकबाट बाहिरिने क्रममा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले कमिटीमा रहेन सदस्यको जिम्मेवारीबारे जानकारी गराएका हुन्।
(फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।