बिबिसी- भारतको बिहार जमसेदपुरमा जन्मिएकी प्रियंका चोपडा बलिउडकी व्यस्त अभिनेत्रीमा पर्छिन्। बलिउडमा उच्च पारिश्रमिक पाउने र लोकप्रिय रहेकी उनले पछिल्लो समय हलिउडमा पनि पाइला टेकिसकेकी छिन्। अभिनेत्रीका साथै प्रियंकाले गायिका, फिल्म निर्मात्रीको विविध परिचय स्थापित गरेकी छिन्।
मिस वर्ल्ड २००० को उपाधि विजेता चोपडाले नेसनल फिल्म अवार्ड र फिल्मफेयर अवार्ड जितेकी छिन्। विभिन्न अन्तर्राष्ट्रिय फोरममा प्रभावशाली र साहसी विचार राख्दै उनले आफ्नो वैचारिक सशक्ता पनि साबित गरेकी छिन्। २०१७ मा फोर्ब्स म्यागेजिनले निकालेको विश्वका एक सय सर्वाधिक शक्तिशाली महिलाको सूचीमा उनले पनि स्थान बनाएकी थिइन्।
यी ३५ वर्षीया अभिनेत्रीले आफ्नो अनुभवबाट सफलताको सूत्र बिबिसी हिन्दीमार्फत बाँडेकी छिन्:
- म जस्तो अर्को कोही छैन भन्ने सोच्नुस्। सबभन्दा महत्त्वपूर्ण कुरा, हामीले आफैंलाई चिन्नुपर्छ।
- जीवनमा केही गर्ने र बन्ने सोचसहित महत्वाकांक्षी बन्नुस्, खासगरी महिलाहरु।
- आफ्नो सपनालाई उन्मुक्त रुपमा उड्न दिनुस्।
- आफ्नो लक्ष्य र बाटो आफैं छान्नुस्। कोही दोस्रो व्यक्तिलाई तपाईंको सपना तय गर्ने अधिकार नदिनुस्।
- थोरैमा सन्तोष किन्न मान्ने? सपना देख्ने कुरामा लोभी हुनु जायज छ।
- आफ्नो लक्ष्यमा अघि बढ्दा पराजित हुनुमा केही नराम्रो छैन। तर, एकचोटि लडेपछि उठ्नु चाहिँ जरुरी हुन्छ।
- कुनै काम थाल्दा जोखिम लिनुपर्छ। तर, जोखिम लिनुअघि राम्ररी सोचविचार गर्नु आवश्यक हुन्छ।
- आफ्नो वरिपरिका तथा निकट व्यक्तिहरुको छनोट गर्ने कुरामा विवेक पुर्याउनुस्।
- तपाईंले हरेक व्यक्तिलाई खुसी पार्न सक्नु हुन्न। त्यसैले त्यसका लागि कोसिस नै नगर्नुस्।
- हरेक कुरालाई गम्भीर रुपमा लिने बानी त्याग्नुस्। जिन्दगीको आनन्द उठाउनु सर्वाधिक महत्वपूर्ण हुन्छ।
- सफलताको रफ्तारमा आफूमा रुखोपन आउन नदिनुस्। आफूभित्र मानवता जिउँदो राख्नुस्।
- तपाईं कहाँबाट आउनुभयो, विगत के हो भन्ने कुरा कहिल्यै नबिर्सनुस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।