काठमाडौं- जिल्ला मालपोत कार्यालय डिल्लीबजारले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा १ अर्ब ६६ करोड ३९ लाख रुपैयाँ राजश्व संकलन गरेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ८५ करोड २१ लाख रुपैयाँ राजश्व संकलन भएको थियो। कार्यालयले पुँजीगत लाभकर, बागमती सुधार शुल्क, सेवा शुल्क तथा रजिस्ट्रसन(घर जग्गा पास) शुल्क संकलन गर्दै आएको छ।
कार्यालयले काठमाडौँको कलंकी, मनमैजू, चाबहिल तथा साँखुबाट पनि मालपोत उठाउँदै आएको छ। मालपोत कार्यालय डिल्लीबजारका मालपोत अधिकृत केशवप्रसाद न्यौपानेले मालपोत उठाउने काम स्थानीय तह अर्थात् सम्बन्धित वडा कार्यालयबाट नै गर्ने अधिकार प्रत्यायोजन भइसकेकाले उक्त काम स्थानीय तहबाट हुने गरेको बताए।
कार्यालयका प्रमुख लेखा अधिकृत कृष्णप्रसाद दाहालले कार्यालयभित्र रहेका चारवटा रजिस्ट्रेसन फाँट, दुईवटा मुद्दा फाँट, चार वटा मोठ फाँट तथा एउटा तामेली फाँटमार्फत सेवाग्राहीलाई सेवा दिँदै आएको जानकारी दिए। उनले घरजग्गाको किनमेलमा केही कमी आएका कारण गत वर्षको तुलनामा झन्डै २० करोड रुपैयाँ राजश्वमा कमी आएको बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।