

साधना सरगम कुनै बेला हिन्दी चलचित्रको सबैभन्दा हिट गायिकाको सूचीमा पर्थिन्। उनले कला क्षेत्रमा भारतमा प्रदान गरिने प्रायः सबै अवार्ड जितिसकेकी छिन्। भारतका चर्चित संगीतकार कल्याणजी–आनन्दजी, आरडी बर्मन र एआर रहमानको म्युजिकमा मात्र होइन, किशोर कुमारजस्ता विख्यात गायकसँग साधनाले गीत गाइसकेकी छिन्।
किशोर कुमारको अन्तिम गीत ‘जब कोही बात बिगड जाए, कब कोही मुस्किल पड जाए’ मा महिलातर्फको आवाज नै उनको थियो। उनै चर्चित गायिकासँग यही गर्मीमा मुम्बईमा भेट्ने मौका जुर्यो।
उनलाई भेट्ने समय मिलाइदिएका थिए, नेपाली गायक तथा ‘मिस्टर इन्डिया’ फिल्ममा चिनियाँ साइन्टिस्टको अभिनय गरेका मुरलीधर दाइले।
मुरली दाइको ‘रिफरेन्स’ लिएर उनलाई फोन गरेको, तुरुन्त गोरेगाउँस्थित रोयल सम्राट अपार्टमेन्टको ३ सय ११ नम्बर तल्लामा आउन उनले स्विकृति प्रदान गरिन्। अपार्टमेन्टबाहिर उनी आफै हामीलाई लिन तल उत्रिएकी थिइन्।
उनको कोठाभित्र पस्दा सम्मान बनाउने पसलमा छिरे जस्तो अनुभव हुन्थ्यो। भित्तैभरि सम्मानका चाङ झुन्डिएका थिए। ९० को दशकको चर्चित फिल्म ‘दिल’ को पोस्टरसहितको अवार्ड उनको कोठामा देखेपछि मेरो दिमाग एकछिन नेपालको सिनेमा घरमा प्रवेश गरेको थियो।
हामी सोफामा बस्ने वित्तिकै उनले भनिन्, ‘गर्मीबाट आउनुभएको छ, चिसो पिऊँ है।’ यसपछि सुरु भयो हाम्रो कुराकानी, भारतको ३४ भाषामा करिब १५ हजार गीत गाइसकेकी साधना सरगमसँग।
उनले कुराको सुरुवात गरिन्, नेपालबाटै। ‘कस्तो घुम्न जान रहर थियो। म नेपाली भएर जन्मेको भए धेरै खुसी हुन्थेँ। मलाई त नेपालकै छोरी हुँ जस्तो आभास हुन्छ।’
उनको यो कुरा सुनेपछि हामी अचम्ममा परेका थियौं। मैले प्रश्न पनि गरेको थिएँ, ‘किन त्यस्तो लाग्छ, हजुर तपाईंलाई?’
यसपछि उनले भेद खोलिन्, ‘मैले आफ्नो जीवनमा धेरै नेपाली गीत गाएँ। मलाई नेपाली गीत गाउँदा अपनत्व अनुभव हुन्थ्यो। निकै आनन्द लाग्छ।’
साधनाले नेपाली फिल्म दक्षिणामा एउटा गीत गाएकी थिइन्, ‘सपना भई आँखामा आउने को होला?’ जुन गीत अहिले पनि नेपालीहरुको जिब्रोमा बसेको छ। उनी हिन्दी संगीतलाई जति प्रेम गर्छिन्, त्यति नै सम्मान नेपाली संगीतप्रति रहेछ।
मैले कुराको बिट मार्दै उनलाई व्यक्तिगत प्रश्न गरे, ‘संसारभरि तपाईंका यति धेरै फ्यानहरु छन्। तर, बिहे किन गर्नुभएन?’
उनले मेरो प्रश्नमा हाँस्दै सहजतासाथ आशिकी फिल्मको एउटा गीत गाइन्, ‘तु मेरी जिन्दगी हे।’ र विषयान्तर गरिन्, ‘मेरो जीवन भनेकै दर्शक हो। मलाई यति धेरै माया दिनुभएको छ। अरुको आवश्यकता नै परेन। सबै कुरा भगवानको हातमा छ।’
साधनासँग नेपाली गीत–संगीतको गहिरो अध्ययन छ। उनले नेपाली संगीतकार सम्भुजित बास्कोटासँग गीत गाउन मजा लाग्ने बताइन्। उनी मुरलीधरलाई आफ्नो दाजुको दर्जामा राख्छिन्। उनको नेपाली गीत गाउने प्यास अझै मेटिएको छैन। भन्छिन्, ‘अफर आयो भने खुसी खुसी गाउँछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।