नुवाकोट– पाँचौं नुवाकोट महोत्सव बुधबारदेखि सुरु भएको छ।
स्थानीय कृषि उब्जनीको बिक्री एवं कला, संस्कृति, पर्यटन तथा धार्मिक स्थलको प्रवर्द्धनमा प्राथमिकता दिइने महोत्सवमा प्रदेश नम्बर ३ स्तरीय अवलोकनकर्ता सहभागी गराउने लक्ष्य राखिएको छ।
फागुन २६ गतेसम्म चल्ने महोत्सवमा २ सय ७५ वटा स्टल राखिएको छ। कृषि, पशु, हस्तकला तथा घरेलु उत्पादनका सामग्रीको बिक्री एवं प्रदर्शनीका लागि भने निःशुल्क स्टल उपलब्ध गराइएको छ।
महोत्सवमा नुवाकोटको पहिचान त्रिशूलीको कान्छी बदाम, शिखरबेशीको चामल, ककनीको ट्राउट माछा र स्ट्रबेरी, किस्पाङको भुइँस्याउको प्रदर्शनी तथा बिक्रीका साथै हाते बुनाइका सामग्रीहरुको प्रदर्शनी राखिएको छ।
नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा भएको महोत्सवमा मुख्य–मुख्य स्थानसहित गणेश हिमाल हुँदै गोसाइँकुण्डसम्म हेलिकोप्टर भ्रमण तथा हात्ती सफारीको व्यवस्था समेत मिलाइएको छ। प्रदर्शनीमा अस्ट्रिच र उँटको नाच समेत हुने बताइएको छ।
महोत्सवको उद्घाटन नुवाकोटबाट निर्वाचित प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङ र नारायणप्रसाद खतिवडाले संयुक्त रुपमा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।