जनकपुर– प्रदेश दुईको राजधानी जनकपुरधाममा पहिलो पटक हुन लागेको दक्षिण एसियाली खेलकुद (साग)को तयारी तीव्र रुपमा हुँदैछ। प्रतियोगिताका लागि भौतिक पूर्वाधार निर्माणलगायतका कार्यहरू भइरहेका छन्।
आठौं सागपछि नेपालमा हुन लागेको १३ औं सागमा काठमाडौंका अतिरिक्त ललितपुर, पोखरा र जनकपुरमा समेत प्रतियोगिताका खेलहरू हुने छन्। साग खेलको इतिहासमा काठमाडौं उपत्यका बाहिर पहिलो पटक प्रतियोगिता हुन लागेको हो।
कुस्ती खेलका सबै प्रतियोगिताका जनकपुरधाममा हुने भएका छन्। जनकपुरमा मंसिर २० गतेदेखि २३ गतेसम्म कुस्तीका खेल हुने छन्। कुस्ती खेलको तयारीका लागि धनुषा जिल्ला खेलकुद विकास समितिका पदाधिकारीहरू युद्धस्तरमा तयारीमा जुटेका छन्।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कमल चौधरीले भने, ‘पहिलो पटक सात देश सम्मिलित प्रतियोगिता जनकपुरमा हुन लागेकोले यो अवसरलाई सदुपयोग गर्न लागिपरेका छौं।’ जनकपुरमा कबड्डी र कुस्तीसहित दुई खेलको आयोजना गर्ने तयारी गरेपनि अन्तिम समयमा राष्ट्रिय खेलकुद परिषदले जनकपुरमा भौतिक पूर्वाधारको अभाव रहेको भन्दै कुस्ती प्रतियोगिता मात्रै गर्न सुझाएको खेलकुद समितिका अध्यक्ष चौधरीले बताए।
साग अन्तर्गत हुने कुस्तीका सम्पूर्ण खेलहरू जनकपुरस्थित धनुषा जिल्ला खेलकुद विकास समितिको कवर्ड हलमा हुनेछन्।अध्यक्ष चौधरीले यसका लागि कवर्ड हलको मर्मत, रंगरोगन, झ्यालढोका निर्माण, भौतिक पूर्वाधार निर्माण, स्टेज, भिआइपी कक्षको मर्मतलगायतका कार्यहरू भइरहेको बताए। चौधरीले कबर्ड हललाई प्रतियोगिताको लागि लायक बनाउने कार्य जारी रहेको बताए।
उनले मंसिर १० गतेभित्र सम्पूर्ण कार्य सम्पन्न गरिसक्ने दाबी गरे। साग प्रतियोगिताले जनकपुरको खेलकुद क्षेत्रको विकासमा ठूलो टेवा पुग्ने खेल जगतसँग सम्बन्धित व्यक्तिहरू बताउँछन्। सागको कुस्ती प्रतियोगिता जनकपुरमा हुने निश्चित भएपछि राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीहरू कवर्ड हलको अनुगमनका लागि पुगेका थिए।
अनुगमनपछि सो हललाई अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता गर्ने हिसाबले तयार पार्न ५६ लाख रुपैयाँ खर्च हुने इस्टिमेट युवा तथा खेलकुद मन्त्रालयलाई पठाएको थियो। ५६ लाख रुपैयाँको खाँचो रहेको स्थानमा २० लाख रुपैयाँमात्रै उपलब्ध गराइएको अध्यक्ष चौधरीको गुनासो छ। उनले तयारीका लागि आवश्यक बजेट उपलब्ध गराउन संघ सरकार अनुदार देखिएको भन्दै दुःख व्यक्त गरे।
नेपाल सरकारले वि.सं. २०४० मा उक्त कवर्ड हलको निर्माण गरेको थियो। निर्माण गरिएको ३६ वर्षपछि हलको मर्मतसम्भार तथा सौन्दर्यीकरणको कार्य भएको छ। जीर्ण अवस्थामा रहेको कवर्ड हललाई सागको खेलकुदका लागि तयार गरिँदैछ।
खेलकुदका लागि जनकपुरधाममा एउटामात्र कवर्डहल रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।