काठमाडौं- १३औं दक्षिण एसियाली खेलकूद सागमा नेपालले कम्तीमा ५० स्वर्ण जित्ने लक्ष्य राखेको छ। साग आयोजक समितिले शनिबार पत्रकार सम्मेलन गरि दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा कम्तीमा ५० स्वर्ण जित्ने लक्ष्य राखिएको जनाएको हो।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले प्रतियोगिता आयोजनासंगै प्रर्दशन र नतिजाको हिसाबले पनि राम्रो तयारी भएकाले धेरै स्वर्ण पदक जित्ने संभावना बढेको बताए। परिषद्ले २१ जना खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाएको छ भने नेपालमै रहेका अधिकांश खेलमा पनि विदेशी प्रशिक्षक ल्याएर तयारी गरिरहेको छ।
सदस्य सचिव सिलवालले स्वर्ण पदक हासिल गर्नका लागि तयारी राम्रो भएको बताए। 'खेलाडी तथा प्रशिक्षलाई हौसला प्रदान गर्नका लागि एकसाता भित्र छुट्टै कार्यक्रम गरी प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी छ,' उनले भने।
पत्रकार सम्मेलनमा साग मूल आयोजक समिति अन्तर्गत प्रचार प्रसार तथा प्रकाशन समितिका संयोजक शिव कोइरालाले विगतको तुलनामा तयारी राम्रो, भत्तामा वृद्धि लगायतले खेलाडीको हौसला बढेकाले उत्साहजनक खेल हुनुको साथै अहिले सम्मकै राम्रो नतिजा हासिल गर्ने अपेक्षा आफूहरुले लिएको बताए।
सात देशका ३ हजार बढी खेलाडी र अफिसियल गरी सागमा ५ हजार विदेशी पाहुना सहभागी हुने बताइएको छ। काठमाडौंमा २१, पोखरामा ९ र जनकपुरमा १ खेलको आयोजना हुने छ। फुटबल, भलिबल, क्रिकेटका खेलहरु पोखरा र काठमाडौं दुवै स्थानमा हुनेछन्। प्रतियोगितामा कुल ३ सय २४ स्वर्ण, ३ सय २४ रजत र ४ सय ८७ कास्य गरि कुल १ हजार १ सय ३५ पदका लागि प्रतिस्पर्धा हुनेछ।
सरकारले साग प्रतियोगिता गर्नका लागि आवश्यक पुर्वाधार निर्माणको लागि १ अर्ब ६२ करोड तथा प्रतियोगिता आयोजनाको लागि ३ अर्ब ६५ करोड रुपैयाँ बजेट निकासा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।