फाइल तस्बिर
काबुल- अफगानिस्तानको राजधानी काबुलमा बुधबार अफगानिस्तानको शान्ति र सुरक्षासम्बन्धी ‘काबुल सम्मेलन’ सुरु भएको छ। 'शान्ति र सुरक्षा सहयोगका लागि काबुल प्रक्रिया' शीर्षकमा जारी सम्मेलनमा विश्वका २० भन्दा बढी देश तथा अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको छ।
उक्त सम्मेलनमा विशेषगरी अशान्त र युद्धका कारण आक्रान्त रहेको अफगानिस्तानमा शान्ति स्थापना, यहाँको विकास र सुरक्षाका लागि आवश्यक सहयोगका बारेमा कुराकानी हुने बताइएको छ। उक्त सम्मेलनमा अफगानिस्तानलाई सहयोग गर्दै आएका दाताराष्ट्र र संगठनहरु पनि सहभागी छन्।
अफगानिस्तानमा पछिल्लो समयमा भएको यो दोस्रो पटकको सम्मेलन हो। यहाँ सन् २०१७ को जनवरीमा पनि यस्तै सम्मेलन भएको थियो। जसले यहाँको विकास र सुरक्षाका लागि आवश्यक सहयोग जुटाएको थियो।
अफगानिस्तानका विदेशमन्त्री सलाहुद्दिन रब्बानीले उक्त सम्मेलनको उद्घाटन गर्दै अफगास्तिानमा शान्ति र सुरक्षाका लागि सघाउन विश्व समुदायलाई आग्रह गरे।
उनले अफगानिस्तानमा शान्ति र सुरक्षा स्थापना हुन सकेमा यसले यस क्षेत्रलाई मात्र नभएर विश्वलाई नै सघाउन पुग्ने धारणा पनि सो अवसरमा राखेका थिए।
अफगानिस्तानमा गएको करिब दुई दशकदेखि अमेरिकी सहयोगको सरकार छ भने तालिबानले हिंसात्मक युद्ध गर्दै आएका छन्।
तालिबानको आक्रमणका कारण यहाँका हजारौँ नागरिकको ज्यान गएको छ भने सुरक्षा कारबाहीमा उनीहरु पनि प्रायः दैनिकजसो नै मारिने गरेका छन्।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।