काठमाडौं- पूर्वाधार विकासमा भएको अनावश्यक ढिलाइले वाक्क बनेका सर्वसाधारणले आन्दोलनका रचनात्मक उपाय अवलम्बन गरिरहेका छन्। केही दिनअघि ठेकेदार शारदाप्रसाद अधिकारीको फोटोको पोस्टर बनाएको तस्बिर र समाचार भाइरल बनेपछि अन्यत्रका जनताले पनि यस्तै आन्दोलन थालेका छन्।
अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको खाडीचौरदेखि दोलखा सदरमुकाम चरिकोटसम्मको ५५ किलोमिटर सडकखण्ड भारतीय एक्जिम बैंकको ऋण लगानीमा सरकारले चार वर्षअघि करिब १ अर्ब २० करोडको लागतमा विस्तार गर्न सुरु गरेको थियो।
ठेकेदारले समयमा काम नगरेको भन्दै दोलखा जाने बसमा उनीहरुको फोटोको पोस्टर बनाएर टाँस्न थालिएको छ। यो आयोजनाको ठेक्का पाएका कम्पनीहरुमध्ये शंकरमाली निर्माण सेवाका सञ्चालक दीपक सापकोटाको तस्बि अहिले बसहरुमा टाँसिएको छ।
सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले समयमै काम नगर्ने ठेकेदारमाथि विभागले पनि कारबाही अघि बढाएको बताए। उनले यो काम अलपत्र पार्ने ठेकेदारलाई पनि आर्थिक जरिवाना गराइसकिएको र उनीहरुले यसपटक पनि काम अघि बढाउने प्रतिबद्धता जनाएको जानकारी दिए।
खाडीचौरदेखि सिन्धुपाल्चोककै मुडे र मुडेदेखि चरिकोटसम्म गरेर दुई खण्डमा यसको ठेक्का लागेको छ। खाडीचौर–मुडे २५ किलोमिटर खण्डको संयुक्त रूपमा जिम्मा लिएका नेपाली कम्पनीहरू सुनौला खिम्ती र गौरीपार्वतीले बीचैमा काम छाडेका थिए।
मुडेदेखि चरिकोटसम्मको दोस्रो खण्डमा भने काम झन् लथालिंग बनेको छ। यसको संयुक्त रूपमा ठेक्का लिएको ठेकेदार कम्पनी शंकर माली र सुनौला खिम्तीले पनि काम अलपत्र पारेका छन्।
तस्बिर: सामाजिक सञ्जाल।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।