काठमाडौं- सडक आयोजनाहरु समयमा नै सम्पन्न नहुने समस्याले सरकार तथा सडक आम मानिस आक्रान्त बनेका छन्। सडकको ठेक्का लिने र विभिन्न बहानामा समयमा नै काम नगर्ने प्रवृत्ति ठेकेदार कम्पनीहरुमा देखिएको छ।
त्यस्तै आयोजना मध्येको एउटा आयोजना हो बालाजुदेखि त्रिशुलीसम्मको सडक आयोजना। सरकारले उक्त सडक स्तरोन्नती गर्ने योजना सहित भारतको एक्जिम बैंकसँग ऋण लिएर काम सुरु गर्यो। बालाजुदेखि नुवाकोटको पिपलटारसम्मको सडकलाई दुई खण्डमा विभाजन गरेर विस्तारको काम सुरु भएको हो।
बालाजु–रानिपौवा सडक खण्डअन्तर्गतको १७ किलोमिटर सडक निर्माणका लागि एआइपिएल–सैलुङ जेभीले ठेक्का पाएका छ। यो सडक निर्माणको सम्झौता २०१४ को जनुमा भएको थियो। तोकिएको समयमा काम सकिएको थियो भने यो सडक २०१६ को जुनमा सकिनु पर्ने थियो।
दुई वर्षको अवधिमा ठेकेदार कम्पनीले सामान्य काम मात्र गरेको आयोजनाले जनाएको छ। उक्त खण्डको निर्माणका लागि आयोजनाले हालसम्म ४ पटक समय थप गरि सकेको छ। चौथो पटक ठेक्काको म्याद २०१९ मेमा सकिएर पाँचौ पटक म्याद थप्नु पर्ने भएको छ। अहिले ठेक्काको म्याद थपका लागि प्रक्रियामा रहेको बालाजु–त्रिशुली सडक सुधार आयोजना प्रमुख निरज शर्माले जानकारी दिए।
मुड्खुबाट सुरु हुने यो सडक खण्डको ठेक्का ३१ करोड रुपैयाँमा लागेको हो भने हालसम्मको भौतिक प्रगती करिब ४७ प्रतिशत मात्र रहेको छ। भरतीय कम्पनी एआइपिएल साझेदार भएपनि यो सडकको निर्माण कार्य सैलुङ कस्ट्रकसन कम्पनीले गरि रहेको छ। यो कम्पनी शारदाप्रसाद अघिकारीको हो। प्रचण्डका घरबेटी समेत रहेका उनको कम्पनीले ठेक्का पाएका अधिकांश काम अलपत्र रहेकाले सर्वत्र विरोध भइरहेको छ।
त्यस्तै पासाङ ल्याम्हु राजमार्गअन्तर्गतको बालाजु–त्रिशुली खण्डको रानिपौवा–पिपलटार सडक निर्माणको हालत समेत उस्तै रहेको छ। यो खण्डको निर्माण ठेक्का दिनेशचन्द्रलाल अग्रवाल, नागर्जुन र कोशी एन्ड न्यौपाने जेभीले पाएका हुन्। आयोजनाले ठेकेदार कम्पनीसँग जुन २०१५ मा सम्झौता गरेको हो। तर काम सुरु भने २०१६ को मार्चबाट मात्र भएको आयोजनाले जनाएको छ। ३४ किलोमिटरको यो खण्ड सम्झौता अनुसार २०१८ को मार्चमा सकिनु पर्थ्यो।
तर दुईपटक थपिएको म्याद समेत २०१९ अक्टोबरमा सकिसकेको छ। ठेकेदार कम्पनीले तेस्रो पटक म्याद थपका लागि आयोजनामा पत्र पठाएको छ भने आयोजनाले त्यसको प्रक्रिया अघि बढाइएको जनाएको छ। यो आयोजनाको हालसम्मको भौतिक प्रगति ४१ प्रतिशतमात्र रहेको छ।
यो आयोजनाको ठेक्का ४४ करोड ३४ लाख रुपैयाँमा स्वीकृत भएको थियो। यी दुवै सडकको चौडाई साढे ५ मिटरको पिच हुनेछ। यसैगरि सोही आयोजनाअन्तर्गत रहेको छहरे–ढिकुरे (बर्राफेदी) ११ किलोमिटर सडकको ठेक्का एआइपिएल–पप्पु–मृतसञ्जिवनी जेभीले पाएका हुन्।
३२ करोड ४५ लाख रुपैयाँको यो ठेक्का जुन २०१४ मा ठेक्का सम्झौता भएर २०१६ को जुनमा सकिनु पर्ने थियो। मध्य पहाडी लोकमार्ग अन्तर्गतको यो सडक साढे ७ मिटर पिच हुनेछ। एआइपिएल–पप्पु–मृतसञ्जिवनी जेभीले यो सडक निर्माणका लागि ५ पटक म्याद थप गराइसकेको छ। पाँचौपटक थपिएको म्याद २०१९ को जुलाईमा सकिएको हो भने हाल छैटौं पटक म्याद थपका लागि प्रस्ताव गरेको छ। यो सडक खण्डको भौतिक प्रगति करिब ७० प्रतिशत रहेको छ।
ठेक्काको प्रणालीमै केही कमजोरी देखिएकाले सडक आयोजनाहरु समयमा सम्पन्न हुन नसकेको आयोजना प्रमुख शर्माको भनाइ छ। ‘ठेक्का लिने बेला सबैभन्दा कममा काम गर्छु भन्नेलाई दिने हाम्रो कानुनी प्रावधान छ,’ उनले भने, ‘लागत अनुमान भन्दा ४५ प्रतिशत कममा काम गर्न तयार हुने ठेकेदारले कसरी काम गर्न सक्छ?’ यसरी ठेकेदारले धेरै ठेक्का लिने र त्यसलाई होल्ड गरेर सबै तिर काम गर्ने र कतैपनि काम सम्पन्न नपर्ने गरेको पाइएको उनको भनाइ छ।
बालाजु–त्रिशुली सडक आयोजना अन्तर्गतको बालाजु–रानिपौवा ४३ प्रतिशत, रानिपौवा–पिपलटार ४५ प्रतिशत र छहरे–बर्राफेदी ३८ प्रतिशत न्यून रकममा ठेक्का परेको हो। अनुमानित लागतभन्दा यति धेरै न्यून रकममा ठेक्का पार्दा त्यो ठेकेदारले गुणस्तरीय काम गर्नेमा प्रश्न उब्जिएको छ। ठेकेदार कम्पनीले धेरै ठेक्का लिने र समयमा निर्माण सामग्री तथा उपकरण पर्याउन नसक्दा आयोजना समयमा नसकिएको शर्माले बताए। ‘हाम्रो आयोजना अन्तर्गतका दुई सडक खण्डमा रुख कटानको समस्याले समेत ढिलो गराएको हो,’ उनले भने।
सार्वजनिक खरिद नियमावली आठौं संशोधन २०७६ ले दिएअनुरुप पछिल्लो पटक म्याद थप गर्ने प्रक्रिया अघि बढाइएको शर्माको भनाइ छ। बालाजुदेखि त्रिशुलीसम्मको सडक ७० किलोमिटर रहेको छ। यो सडक ३५ मेगावाटको त्रिशुली जलविद्युत आयोजना निर्माणका क्रममा २०१८ सालमा ट्रयाक खुलेको थियो। हाल एक लेन रहेको यो सडक विस्तारसंगै दुई लेनको हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।