एजेन्सी– सिरियाको राहत क्याम्पमा महिलाहरुको यौन शोषण भइरहेको खुलेको छ। बिबिसीले यस्तो खुलासा गरेको छ कि संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संगठनका तर्फबाट सहयोग गरिरहेका पुरुष राहतकर्मीले त्यहाँका महिलामाथि यौन शोषण गरिरहेका छन्।
स्थानीय महिलाहरुको गुनासो अनुसार राहतकर्मी यौनको बदलामा भोजन बेचिरहेका छन्।
तीन वर्षपहिले यही विषयमा दिइएको चेतावनीका बाबजुद पनि देशको दक्षिणी भागमा यस्तो घृणित कार्य जारी छ।
संयुक्त राष्ट्रसंघ र अन्य संगठनले भने उक्त क्षेत्रमा काम गरिरहेका सहयोगीहरुका विरुद्ध त्यस्तो कुनै गुनासो नआएको जनाएका छन्। तर, स्थानीय राहतकर्मीले भनेका छन्, ‘महिलाहरुमाथि यौन शोषणको रुप भयावह बन्दै गइरहेको छ। जसका कारण सिरियाका महिला राहत वितरण केन्द्र जान अस्वीकार गरिरहेका छन्।’

एक राहतकर्मी दाबी गर्छन्, केही मानवअधिकारवादी संगठन आँखा चिम्लिरहेका छन्। किनकि खतरनाक इलाकामा आफ्ना लागि ती स्थानीय अधिकारी र सहयोगी काम गरिरहेका छन्।
संयुक्त राष्ट्र जनसंख्या कोषको एक अध्ययनबाट पनि यो प्रमाणित भएको थियो। राहत सामग्री दिएको बदलामा महिला र युवतीहरुसँग यौन शोषण भइरहेको अध्ययनमा देखिएको छ। संगठनले यस्तो अध्ययन गत वर्ष सिरियाका विभिन्न प्रशासनिक इलाकामा गरेको थियो।
विधवा र डिभोर्सी निसानामा
‘भ्वाइ फ्रम सिरिया २०१८’ नामक रिपोर्टमा लैंगिक हिंसाको विश्लेषण गरिएको छ। जहाँ धेरै ठाउँमा यस्तो घटना भएको पनि दाबी छ।
रिपोर्टमा भनिएको छ, ‘महिला र केटीहरु राहतकर्मीसँग केही समयका लागि विवाह गरिरहेका थिए। ताकि उनीहरुलाई खानेपिउने सामग्री मिलोस्। बदलामा राहतकर्मी उनीहरुसँग यौन सम्बन्ध राखिरहेका हुन्थे।’
महिला र युवतीहरुसँग राहतकर्मीले फोन नम्बर माग्ने र पछि आफ्नो बासस्थानतिर लिएर जाने गरेको पनि रिपोर्टमा उल्लेख छ। विशेषगरी विधवा र डिभोर्सी महिला उनीहरुको निसानामा छन्।

यस प्रकारको पहिलो घटना तीन वर्षपहिले पनि सार्वजनिक भएको थियो। मद्दत पुर्याइरहेको एक संगठनका सल्लाहकारका रुपमा काम गरिरहेका डेनियल स्पेन्सरसँग सन् २०१५ मा केही सिरियाली महिलाको समूहले यस्तो गुनासो गरेका थिए। स्पेन्सर भन्छन्, ‘उनीहरु तबसम्म राहत सामग्री रोकेर राख्थे। जबसम्म बदलामा उनीहरुलाई यौन मिल्दैनथ्यो।’
उनले थपे, ‘मलाई याद छ एक महिला आफ्नो कोठामा रोइरहेकी थिइन्। जे भइरहेको थियो, यसबाट उनी असाध्यै दुःखी थिइन्।’
उनले महिला र युवतीहरुलाई राहत सामग्री बाँड्ने समय सुरक्षाकर्मी जरुरी रहेको उल्लेख गरेका छन्।
४० प्रतिशत यौन हिंसाका सिकार
द इन्टरनेसनल रेस्क्यु कमिटीले यही सर्वे जुन २०१५ मा गरेको थियो, जसमा १ सय ९० महिला र युवती सहभागी थिए। रिपोर्टका अनुसार ४० प्रतिशत महिलाले सहयोगको बदला यौन हिंसाको सिकार भएको बताएका थिए।
समितिका प्रवक्ताले भने, ‘सर्वेको निष्कर्ष थियो कि दक्षिण सिरियामा यौन हिंसा व्यापक चिन्ताको विषय हो। जहाँ राहत सामग्रीका बदला यस्तो कार्य हुन्छ।’
बिबिसीले यी दुवै गोप्य रिपोर्ट भेटेको जनाएको छ। जुन २०१५ मा संयुक्त राष्ट्र जनसंख्या कोषको एक बैठकमा यी रिपोर्ट पेस भएका थिए। जोर्डनको राजधानी अम्मानमा भएको यस बैठकमा संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संगठनले भाग लिएका थिए।
निगरानी बढाइयो
द इन्टरनेसनल रेस्क्यु कमिटीका प्रवक्ताले दक्षिण सिरियामा महिला र युवतीको राम्रो सुरक्षाका लागि नयाँ कार्यक्रम सुरु गरेको बताएका छन्।
केयर संस्थानले सिरियामा निगरानीको टिम विस्तार गरेको छ। सँगै राहत सामग्री स्थानीय एजेन्सीले दिने काम बन्द गरिदिएको छ।

स्पेन्सर दाबी गर्छन् कि राहत पुर्याउनेवाला संस्था यस मामलामा आँखा बन्द गरिरहेका छन् ताकि दक्षिण सिरियामा राहत सामग्री पुगिरहोस्। उनी भन्छन्, ‘महिलाविरुद्ध भइरहेको यौन हिंसा कति वर्षसम्म नजरअन्दाज भइरहला?’
सन् २०१५ मा संयुक्त राष्ट्र जनसंख्या कोषको बैठकमा एक सहभागीले भने, ‘यौन शोषणका विषयमा विश्वसनीय रिपोर्ट पेस गरिएको थियो तर यसमा संयुक्त राष्ट्रसंघले कुनै प्रकारको कदम अघि बढाएन।’
जनसंख्या कोषका प्रवक्ताले भने यौन शोषणसँग जोडिएको कुरा सुनिए पनि कोषसँग काम गरिरहेकाहरु विरुद्ध गुनासो नआएको बताएका छन्।
बिबिसी हिन्दीबाट डिबी खड्काद्वारा अनूदित
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।