एजेन्सी– चर्चित टेलिभिजन प्रस्तोता, हलिउड अभिनेत्री तथा निर्मात्री ओप्रा विन्फ्रे ६४ वर्षकी भइन्। १८ हजार करोडभन्दा बढीको सम्पत्ति रहेकी उनी सबैभन्दा धनाढ्य अफ्रिकी-अमेरिकीमा पर्छिन् भने उत्तरी अमेरिकाको पहिलो अरबपति अश्वेत व्यक्तिको सूचीमा पर्छिन्।
आज करोडौंकी मालिक रहेकी यी अभिनेत्रीले कुनै समय कतिसम्म दर्दनाक जीवन गुजारेकी थिइन्, अन्दाज गर्न पनि गाह्रो पर्छ। अरुलाई अन्दाज गर्न समेत गाह्रो पर्ने अवस्था भोगेर आएकी उनको यात्रा जति मर्मस्पर्शी छ, त्यति नै प्रेरणादायी पनि।
ओप्राको वास्तविक नाम ओरफा हो। उनी यस्ती महिला हुन्, जो अश्वेत समुदायबाट विश्वका धनाढ्यको सूचीमा पर्ने पहिलो व्यक्ति बनिन्। ओप्राका जीवन यात्राका केही विशेष पाटो यस्ता छन्, जुन थाहा पाउनेलाई पीडाबोध त हुन्छ नै, कठोर भोगाइबाट संघर्ष गर्न कतिलाई प्रेरणा पनि मिल्न सक्छ।
एकल आमाकी छोरी
ओप्रा यस्ती आमाकी छोरी हुन्, जसले अविवाहित अवस्थामै उनलाई जन्म दिइन्। उनलाई आमा र हजुरआमाले पालनपोषण गरेका थिए। ओप्राको बाल्यकाल निकै गरिबीमा बितेको थियो। ६ वर्षको उमेरसम्म उनले चप्पल लगाउन पाएकी थिइनन्।
९ वर्षको उमेरमा बलात्कार
ओप्राले बाल्यकालमा कहालीलाग्दो घटना बेहोर्नुपर्यो। ओप्रामाथि ९ वर्षको उमेरमा बलात्कार हुन पुग्यो।
१४ वर्षमै गर्भवती
९ वर्षको उमेरदेखि निरन्तर यौन हिंसाकी पिडित ओप्रा १४ बर्षको उमेरमा गर्भवती भइन्। लोकलाज र घृणाबाट बच्न १३ वर्षको उमेरमा घरबाट भागेर हिँडेकी उनले त्यसको एक वर्षपछि एक सन्तानलाई जन्म दिइन्। तर, जन्मिएको केही समयमै बच्चाको मृत्यु भएको थियो।
पहिलो पटक नेसनल टिभीमा
ओप्राले गरिबी र अभावलाई छिचोल्दै अनेकौं संघर्ष गरेर जीवनमा अघि बढ्दै गइन्। अन्तत: सफलताले उनलाई पछ्याउन थाल्यो। सन् १९८६ मा पहिलो पटक अमेरिकाको नेसनल टिभीमा ‘द ओप्रा विन्फ्रे शो' सहित कार्यक्रम प्रस्तोताका रुपमा देखा परिन्। उक्त कार्यक्रममा उनी चर्चित सेलिब्रिटीहरुको अन्तर्वार्ता लिन्थिन्। यसैमार्फत उनले पनि चर्चित सेलिब्रेटीहरुसरह चर्चा बटुल्न सफल भइन्। ‘द ओप्रा विन्फ्रे शो' सन् २०११ सम्म निरन्तर सञ्चालन भयो।
बहुप्रतिभाशाली
ओप्रा एक टिभी होस्ट मात्र नभएर सफल लेखक पनि हुन्। उनले अहिलेसम्म ५ वटा पुस्तक लेखिसकेकी छन्। उनले हलिउडका केही फिल्महरुमा समेत अभिनय गरिसकेकी छन्।
प्रेम पुगेन विवाहसम्म
ओप्राले जीवनमा गहन सपना सजाउनुका साथै मायालु साथी बनाउने समय बनाइन्। तर, ती कसैसँग उनको विवाह भएन। हाइस्कुलमा पढ्दा एन्थोनी ओटी नाम गरेको एक साथीसँग उनको प्रेम बसेको थियो। उनीहरुले छोटो समयमै एक हजार बढी प्रेमपत्र आदानप्रदान गरेका थिए। तर, विवाह गर्ने दुवैको चाहना हुँदाहुँदै एन्थोनीले बीचैमा सम्बन्ध अन्त्य गरे। कारण थियो, ओप्राको सपना निकै गहन हुनु। उनी जीवनमा धेरै कुरा गर्न चाहन्थिन्। जुन कुरा आफूबाट सम्भव नहुने देखेर प्रेमीले सम्बन्ध टुंग्याएका थिए।
समय क्रममा ओप्राको अर्को व्यक्ति टेलरसँग पनि प्रेम भयो। तर, यो सम्बन्ध लामो समयसम्म टिक्न सकेन। उनी सन् १९७० तिर जोन टेससँग सम्बन्धमा थिइन्। तर, जोनको अरु महिलासँग पनि सम्बन्ध भएको थाहा पाएपछि उनले प्रेमलाई त्यहीँ टुंग्याइन्। ओप्राले त्यसपछि पनि अरु विभिन्न व्यक्तिलाई मन सुम्पिइन्। तर, ती कसैसँग विवाहको चाँजोपाँजो जुर्न सकेन।
आजकाल के गर्दै छिन्?
ओप्रा ‘द ओप्रा विन्फ्रे’ कार्यक्रमको होस्टपछि आफ्नै एक प्रोडक्सन हाउस ‘हार्पो प्रोडक्सन’ हाउस चलाएर बसेकी छन्। सन् १९८६ मै स्थापना गरेको उक्त प्रोडक्सन हाउसको उनी सिइओ हुन्। यसका साथै उनले 'ओप्रा विन्फ्रे नेटवर्क' समेत सञ्चालन गर्दै आएकी छन्।
ओप्रा अहिले अमेरिकाको क्यालिफोर्नियामा ४२ एकड जग्गामा बनाइएको सानदार घरमा बस्छिन्। यसका साथ अमेरिकाका विभिन्न स्थानमा उनका घरहरु छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।