सोल - उत्तर र दक्षिण कोरियाका कार्यकारी अधिकारीबीच मङ्गलबार वार्ता भएको छ। यी दुई देशबीचका कार्यकारिणी तहका अधिकारीबीच सो वार्ता भएको बताइएको छ।
उक्त द्विपक्षीय वार्तामा अधिकारीहरुले उत्तर कोरियामा हालैमात्र भएको शीतकालीन ओलम्पिक खेलकूदको बारेमा समीक्षा गर्नुकासाथै दुई देशबीच आगामी दिनमा हुने भनिएको द्विपक्षीय उच्चस्तरीय वार्ताको तयारीको बारेमा कुराकानी गरेका बुझिएको छ।
सो कुराको जानकारी दक्षिण कोरियाको राष्ट्रिय एकता मन्त्रालयले मङ्गलबार दिएको छ । उक्त मन्त्रालयका अनुसार मङ्गलबार बिहान १० बजेबाट सो वार्ता सुरु भएको थियो।
सो वार्ताका लागि दक्षिण कोरियाले गत हप्ता नै उत्तरलाई पत्र पठाएको थियो । उत्तर कोरियाले सो पत्रमा केही दिनअघि सहमति जनाएको पनि सो मन्त्रालयले जानकारी दिएको छ।
उक्त वार्ता उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा रहेको पानमुनजोममा सुरु भएको हो । पूर्व निर्धारित समयअनुसार नै विहान १० वजेबाट वार्ता सुरु भएको बताइएको छ।
सो वार्ताका लागि दुई कोरियाका तर्फबाट अधिकारीहरु अन्तर कोरियाली विभागका महानिर्देशकहरुको सहभागिता रहेको छ । वार्तामा दुवै तर्फका तीन तीन जना सदस्य रहेका छन्।
यस वार्ता टोलीले हालै भएको शीतकालीन ओलम्पिकको समीक्षाका साथै आगामी दिनमा यी दुई देशबीच हुन लागेको भनिएको उच्चस्तरीय वार्ताको बारेमा पनि कुराकानी हुने बताइएको छ।
यही फेब्रुअरी ९ देखि १८ सम्म दक्षिण कोरियामा सम्पन्न भएको ओलम्पिक खेलकूदमा यी दुई देशका प्रतिनिधिको सहभागिताबाट सम्बन्धमा पछिल्लो समयमा केही सुधार आएको महसुश गरिएको छ।
यसै खेलकूदका समयमा विकसित सम्बन्धका कारण उत्तर कोरियाको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डलले अमेरिकी अधिकारीसँग पनि भेटवार्ता गर्न चाहेको समाचार पनि सोमबारै सार्वजनिक भएको छ।
दक्षिण कोरियामा आयोजना भएको यस शीतकालीन खेलकूदका कारण उत्तर र दक्षिण कोरियाकासाथै उत्तर कोरियाको अरु देशसँगको सम्बन्धमा पनि सुधारको संकेत देखिएको अनुमान गरिएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।