काठमाडौं- देशले नयाँ अर्थमन्त्रीको रुपमा आर्थिक क्षेत्रलाई नजिकबाट बुझेका व्यक्ति पाउँदा सेयर बजारका लगानीकर्ता उत्साहित भएका छन्। जसको प्रत्यक्ष प्रभाव मंगलबारको बजारमा परेको छ। कारोबार खुलेदेखि नै बढेको नेप्से परिसूचक कारोबारको मध्य समयमा दोहोरो अंकले बढेको थियो। कारोबारको अन्त्यमा परिसूचक सम्हालिएको छ।
सोमबार डा युवराज खतिवडा अर्थमन्त्रीको रुपमा नियुक्त भएका हुन्। नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर समेत रहेका डा खतिवडालाई नेपालको आर्थिक क्षेत्रको गतिविधि राम्रोसँग बुझ्ने व्यक्तिको रुपमा लिने गरिएको छ। त्यसैले लगानीकर्ताले क्षणिक रुपमा नेपाली पुँजी बजारमा अस्थिरता देखिए पनि दीर्घकालीन हिसाबमा सकारात्मक प्रभाव गर्ने जानकारहरु बताउँछन्।
मंगलबार परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ। नेप्से परिसूचक ५ दशमलब ८६ अंकले बढेर १ हजार ३ सय ६४ दशमलब ८१ अंकको बिन्दुमा रोकिएको छ।
मंगलबार १ सय ५३ कम्पनीको ५५ करोड ६८ लाख ६० हजार ३ सय ५७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। जबकि सोमबार ५५ करोड २४ लाख २० हजार २ सय ७० रुपैयाँ बराबरको सेयर किनबेच थियो।
मंगलबार कारोबारमा आएका समूहमा मिश्रित परिणाम देखिएको छ। पाँच समूहको सेयर मूल्य बढेको छ भने चार समूहमा गिरावट आएको छ।
उत्पादन तथा प्रशोधन समूहमा १० दशमलब ४१, बिमा समूहमा २ दशमलब ६२ अंकले गिरावट आएको छ भने होटल समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यो समूह ३१ दशमलब २६ अंकले बढेको छ। त्यस्तै, अन्य समूह ११ दशमलब ९ अंकले बढेको छ।
कारोबारको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा छ। कम्पनीको ६ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, प्रभु बैंकको ६ करोड १८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका छन्। सोमबारको कारोबारमा पनि यी दुई कम्पनी अग्रस्थानमा थिए।
मंगलबार कञ्चन डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। कम्पनीको सेयर मूल्यमा २० रुपैयाँ अर्थात् ९ प्रतिशतले गिरावट आएको छ। गुराँस फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको सेयर मूल्य ७ रुपैयाँ अर्थात् ५ दशमलब ४७ प्रतिशतले बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।